हेटौंडा, भदौ ४ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलमा विवाद चर्किएको छ । दलका नेता उद्धव थापाले पार्टी र संसदीय दलको निर्णयविपरीत नेकपा एमालेका किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुखसमक्ष पत्र बुझाएपछि विवाद चुलिएको हो ।
यही विवादका बीच संसदीय दलका बहुमत सदस्यले थापाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
राप्रपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएको पत्रमा थापाले संसदीय दलको बैठक नै नबसी व्यक्तिगत लेटरप्याड प्रयोग गरेर मुख्यमन्त्रीमा समर्थन जनाएको उल्लेख गरेकी छन् ।
पार्टीको निर्णय र बृहत्तर हितविपरीत स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै थापाविरुद्ध भदौ १ गते बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको जानकारीसमेत प्रदेश प्रमुखलाई गराइएको छ ।
व्यक्तिगत लेटरप्याडमै समर्थन
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले साउन २० गते बागमती प्रदेश सरकार गठनको ‘गणितीय चलखेल’मा सहभागी नहुने निर्णय गरेको पत्रमा उल्लेख छ । उक्त निर्णयअनुसार प्रदेश संसदीय दललाई सरकार निर्माणको छलफलमा सहभागी नहुन तथा कुनै दललाई समर्थन नगर्न निर्देशन दिइएको थियो ।
तर, त्यसको विपरीत दलका नेता थापाले संसदीय दलको औपचारिक बैठकसमेत नबसी व्यक्तिगत लेटरप्याड प्रयोग गरेर एमालेका किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गरेको भन्दै प्रमुख सचेतक तामाङले आपत्ति जनाएकी छन् । समर्थन पत्रबारे सञ्चारमाध्यमबाट जानकारी पाएपछि आफूहरू ‘आश्चर्यचकित’ भएको पत्रमा उल्लेख छ ।
राप्रपा संसदीय दलले २१ साउन २०८३ मा गरेको निर्णय पनि पत्रमा स्मरण गराइएको छ । उक्त बैठकको अध्यक्षता दलका नेता उद्धव थापाले नै गरेका थिए । बैठकले बागमती प्रदेश सरकार निर्माणको चलखेलमा सहभागी नहुने र कसैलाई समर्थन नगर्ने निर्णय गरेको दाबी गरिएको छ ।
सो निर्णयसँगै बैठकको माइन्युटसमेत प्रदेश प्रमुखलाई पठाइएको तामाङले उल्लेख गरेकी छन् । अर्थात्, संसदीय दलको बैठकबाटै सरकार निर्माणमा सहभागी नहुने निर्णय भएको अवस्थामा दलका नेताले त्यसको विपरीत व्यक्तिगत लेटरप्याडमा समर्थन पत्र बुझाएको विषय अहिले विवादको मुख्य कारण बनेको छ ।
राप्रपा बागमतीमा अब विवाद केवल सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा सीमित नरही संसदीय दलको नेतृत्वमाथि नै विश्वासको प्रश्न बनेको छ ।





