तरबुजाको बिउ आयातमा सरकारको रोक



काठमाडौं, भदौ ५ गते ।

पछिल्लो समय नेपालमा तरबुजा (खरबुजा) को बिउ आयात अस्वाभाविक बढेर तस्करीको आशंका भइरहेका बेला सरकारले यसको आयातमा रोक लगाएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले सुडानबाट आयात हुने तरबुजाको खाने बिउमा तत्कालका लागि रोक लगाएको हो ।

केन्द्रले सूचना जारी गरेर आज ९५ भदौ० देखि अर्को निर्णय नभएसम्मका लागि सुडानबाट आउने तरबुजाको खाने बिउ आयातका लागि नयाँ प्रवेश अनुमतिपत्र जारी नगर्न सबै क्वारेन्टिन कार्यालयलाई निर्देशन दिएको छ ।

केन्द्रले हिजो (भदौ ४) मा सबै क्वारेन्टिन कार्यालयका प्रमुखहरूलाई पत्र काट्दै उक्त निर्देशन दिएको हो । केन्द्रका अनुसार सुडानबाट चलानी भएका तरबुजाको बिउको खेपसँगै आउने ‘बिरुवा स्वस्थताको प्रमाणपत्र’ मा केही विषय शंकास्पद देखिएकाले त्यसमा थप परीक्षण, प्रमाणीकरण र जोखिम विश्लेषण गरी सुडानको बिरुवा संरक्षण संगठनसँग समझदारी गरिने छ ।

यही कारण अर्को निर्णय नहुँदासम्म राष्ट्रिय बिरुवा संरक्षण संगठनले नयाँ अनुमतिपत्र रोक्ने निर्णय गरेको हो ।

किर्ते वा अनधिकृत काम भए थप अनुसन्धान गरिने

केन्द्रले आयातकर्ता (पैठारीकर्ता) बाट उपलब्ध गराइएका बिरुवा स्वस्थताको प्रमाणपत्र लगायत विवरणमा किर्ते, संशोधन वा अनधिकृत थपघट गरिएको पाइए कडा कारबाही गर्न निर्देशन दिएको छ ।

सर्त उल्लंघन भएको वा अन्य कैफियत भेटिए ‘बिरुवा क्वारेन्टिन तथा संरक्षण ऐन २०६४’ अनुसार कारबाही गर्न र उक्त कार्य अन्य कानुन बमोजिम समेत कसुर हुने देखिए थप अनुसन्धान र कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन भनिएको छ ।

सुडानको संरक्षण संगठनसँग समझदारी गरिने

यसैगरी सरकारले सुडानको राष्ट्रिय बिरुवा संरक्षण संगठनसँग तरबुजाको बिउको स्वस्थता प्रमाणपत्र र प्रवेश अनुमतिपत्रको कम्प्लायन्स विषयमा दोहोरो जोखिम सञ्चार तथा समझदारी गर्ने निर्णय गरेको छ ।

सूचनामा सुडानी तरबुजाका सम्बन्धमा विगतमा भएका र अब हुने निरीक्षण, प्रयोगशाला परीक्षण, स्वस्थताको प्रमाणपत्र र अन्य कारबाहीको सक्कल अभिलेख केन्द्रमा पठाउन मातहत कार्यालयलाई निर्देशन दिइएको छ ।

जैविक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले जोखिममा आधारित भई यी निर्णय तत्काल लागु गरिएको केन्द्रको सूचनामा छ । साथै, यसैअनुसार कार्यान्वयन गर्ने गरी केन्द्रबाट रोक्का राखिएका प्रवेश अनुमतिपत्रहरू भने सक्रिय गरिएको जनाइएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा करिब १४ करोड रुपैयाँको मात्र आएको तरबुजाको बिउ गत आव २०८२र८३ मा अस्वाभाविक बढेर ३ अर्ब रुपैयाँभन्दा बढीकोे भित्रिएको थियो ।

नेपालमा रोप्नका लागि जम्मा ७ देखि ९ टनमात्र बिउ खपत हुने विज्ञहरूको भनाइ छ । तर, व्यापारीले तारे होटल, बेकरी र मिठाईमा प्रयोग हुने बोक्रा छोडाएको महँगो बिउ (मगज) लाई भन्सारमा ‘कृषिको बिउ’ भन्दै जाँचपास गराएर कर छल्ने र नेपालको बाटो हुँदै भारततर्फ तस्करी गर्ने गरेको आशंका गरिएको थियो ।

विगतमा सुपारी र केराउमा सेटिङ गर्ने बिचौलियाहरूले सुडान र नाइजेरियाबाट आउने तरबुजाको बिउलाई रातारात करोडौं कमाउने नयाँ हतियार बनाएको तथ्य बाहिरिएपछि सरकार दबाबमा थियो ।

Scroll to Top