यस वर्षको धान रोपाइँ सकियो



काठमाडौं, भदौ ५ गते ।

यस वर्षको धान रोपाइँ सकिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको अन्तिम तथ्यांक अनुसार देशभरि समग्रमा ९८.५६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो ।

विभागका अनुसार यस वर्ष देशभरि धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ६९ हजार ६ सय ८० हेक्टर रहेकोमा १३ लाख ५० हजार २४ दशमलव ५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

गत वर्ष यही अवधिमा देशभरि जम्मा ९४.६६ प्रतिशत मात्र रोपाइँ भएको थियो । जसको तुलनामा यस वर्ष समग्र रोपाइँ दरमा राम्रो वृद्धि भएको देखिन्छ ।

प्रदेशगत तथ्यांकलाई विश्लेषण गर्दा यस वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यही अवधिमा कर्णालीमा ९९.३४ प्रतिशत र सुदूरपश्चिममा ९९.७२ प्रतिशत रोपाइँ भएको थियो ।

त्यसैगरी, अन्य प्रदेशहरूमध्ये कोशी प्रदेशमा गत वर्ष ९६.६७ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष बढेर ९८.८२ प्रतिशत पुगेको छ । मधेश प्रदेशमा पनि गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य सुधार देखिएको छ । गत वर्ष ८६.३५ प्रतिशत मात्र रोपाइँ भएको मधेशमा यस वर्ष ९८.२३ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशमा पनि गत वर्षभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । बागमती प्रदेशमा गत वर्ष ९७.२७ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष त्यो दर ९७.८२ प्रतिशत पुगेको छ । गण्डकी प्रदेशमा गत वर्ष ९४.८३ प्रतिशत रहेको रोपाइँ दर यस वर्ष बढेर ९९.३१ प्रतिशत पुगेको छ ।

देशभरिका अधिकांश प्रदेशमा रोपाइँ दर बढे पनि लुम्बिनी प्रदेशमा भने गत वर्षको तुलनामा यस वर्ष रोपाइँको प्रतिशत सामान्य घटेको छ । गत वर्ष लुम्बिनी प्रदेशमा ९८.३७ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ९७.८७ प्रतिशत मात्र रोपाइँ भएको तथ्यांकले देखाएको छ ।

Scroll to Top