काठमाडौं, भाद्र ७ गते ।
पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार साउन ५ गते बालिकालाई लिची खान दिन्छु भनी किशोरले आफ्नै घरमा बोलाएर जबरजस्ती करणी गरेको भन्दै बालिकाको परिवारले लिखित उजुरी दिएको छ ।
घटना साउन ५ गतेको भए पनि बालिकाको परिवारले भने घटना भएको एक महिना पछि भदौ ४ गते मात्र लिखित जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
बालिकाको परिवारले लिखित जाहेरी दिएपछि प्रहरीले ती किशोरलाई पक्राउ गरेर जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
आरोपित व्यक्ति पनि १६ वर्षीय किशोर रहेकोले प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । साभार : डिसी नेपाल





