ढल्केवर क्षेत्रमा भूमिगत विद्युतीकरणको माग

Oplus_131072



सरु लामा
ढल्केवर, भाद्र १० गते ।

धनुषाको ढल्केवर बजार क्षेत्रमा विद्युत् तथा सञ्चारका तार भूमिगत गर्न माग गरिएको छ । देशकै ठूलो विद्युत् सबस्टेसन तथा महत्वपूर्ण अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार रहेको ढल्केवरमै विद्युत्, इन्टरनेट र टेलिफोनका तार अव्यवस्थित रूपमा झुन्डिँदा बजार क्षेत्र कुरूप हुनुका साथै सार्वजनिक सुरक्षा र आवागमनमा समेत समस्या भइरहेको भन्दै भूमिगत विद्युतीकरणको माग गरिएको हो ।

मिथिला नगर पत्रकार सञ्जालले ढल्केवर ग्रिड महाशाखामार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई ध्यानाकर्षण पत्र पठाउँदै ढल्केवर बजार तथा प्रमुख सडक करिडोरमा भूमिगत विद्युतीकरणको परियोजना तत्काल अघि बढाउन आग्रह गरेको छ ।

मिथिला नगरपालिकाको सदरमुकाम ढल्केवर पछिल्लो समय तीव्र सहरीकरणतर्फ अघि बढिरहेको उल्लेख गर्दै पूर्व–पश्चिम लोकमार्ग र मधेश प्रदेशको राजधानी जनकपुरधामलाई जोड्ने प्रमुख केन्द्रका रूपमा रहेको ढल्केवरमा जनघनत्व, व्यापारिक गतिविधि र पूर्वाधार विस्तार बढ्दै गए पनि बजार क्षेत्रको विद्युत् तथा सञ्चार पूर्वाधार भने व्यवस्थित हुन नसकेको सञ्जालले जनाएको छ ।

बजार क्षेत्रमा विभिन्न सेवा प्रदायकका तार तथा केबल सडक र बजार क्षेत्रमा अव्यवस्थित रूपमा झुन्डिएका कारण बजारको सौन्दर्यमा असर पर्नुका साथै सर्वसाधारणको आवागमन, सार्वजनिक सुरक्षा र विद्युत् तथा सञ्चार सेवा व्यवस्थापनमा चुनौती थपिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सञ्जालले अहिले नै भूमिगत केबलिङको व्यवस्था गर्न सके सडक विस्तार तथा अन्य पूर्वाधार निर्माणका क्रममा तार व्यवस्थापनको समस्या दोहोरिन नदिने जनाएको छ । भूमिगत विद्युतीकरणले बजारको सौन्दर्य बढाउनुका साथै विद्युत् तथा सञ्चार सेवा थप सुरक्षित, भरपर्दो र दीगो बनाउन सहयोग पुग्ने सञ्जालका अध्यक्ष विजय कुमार साहले बताए ।

भूमिगत विद्युतीकरणका लागि आवश्यक प्राविधिक अध्ययन, सम्भाव्यता परीक्षण र विस्तृत लागत अनुमान तयार गरी चरणबद्ध कार्ययोजना बनाउन तथा सम्बन्धित निकायबीच समन्वय गरेर कार्यान्वयन प्रक्रिया तत्कालै अघि बढाउन माग गरिएको अध्यक्ष साहको भनाइ छ ।

ढल्केवरको राष्ट्रिय विद्युत् पूर्वाधारमा रहेको महत्वलाई ध्यानमा राख्दै मिथिला नगर क्षेत्र, ढल्केवर बजार र प्रमुख सडक करिडोरमा भूमिगत विद्युतीकरणको योजना प्राथमिकताका साथ अघि बढाउन नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराइएको मिथिला नगर पत्रकार संजालका सल्लाहकार विनोद कुमार महतोले बताए ।

यता, ध्यानाकर्षण पत्र बुझ्दै ढल्केवर ग्रिड महाशाखाका प्रमुख शुभनारायण मण्डलले सञ्जालले उठाएको मागलाई सम्बन्धित माथिल्लो निकायसमक्ष रिपोर्टिङ गर्ने बताए । आजको द पब्लिक टुडेमा समाचार छ ।

Scroll to Top