दुई करोड ४० लाखको अवैध ‘एप्पल एयरपोड्स’ बरामद



महोत्तरी, भदौ २० गते ।

महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट सशस्त्र प्रहरीले साढे दुई करोड रुपैयाँ मूल्य बराबरको एप्पल कम्पनीको एयरपोड्स बरामद गरेको छ।

शनिबार बिहान भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको करिब दुई करोड ४० लाख रुपैयाँ बराबरको १२ सय थान एयरपोड्स सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बहादुर कार्की, सीमा सुरक्षा गुल्म रघुनाथपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश दत्त पाण्डे र बोर्डर आउट पोस्ट खैरवनीका सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरीको संयुक्त गस्ती टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ अवैध सामान बोकेर ल्याउने व्यक्तिहरू भने फरार भएका थिए। बरामद गरिएको एयरपोड्सलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिएका छन्।

Scroll to Top