जनकपुरधाम, भदौ २६ गते ।
आमाले छाडेर अलपत्र भएपछि प्रहरीको सहयोगमा बाल आश्रम पुगेकी बालिकालाई दुई महिनापछि पुनः आमाले नै जिम्मा लिएकी छन् । गत असार ३१ गते राति ८ः २० बजे महोत्तरीको समसी गाउँपालिका–४ भेटपुरचौकमा बालिका अलपत्र फेला परेकी थिइन् ।
अभिभावक खोज्दा नभेटिएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले धनुषाको जनकपुरधाम वडा नं. ८ स्थित सद्गुरु बाल आश्रममा जिम्मा लगाएको थियो । करिब दुई महिनापछि ती बालिका सम्सी गाउँपालिकाकै शन्तकुमार मण्डलको रहेको पुष्टि भयो ।
बच्चा हराएको एकसातापछि भारतबाट मजदुरी गरेर फर्केका थिए । आमा विनिता मण्डलले बालिकालाई चौकमा लगेर छाडिदिएकी थिइन् । आमा वविताले आफ्नो मानसिक अवस्था त्यतिबेला ठीक नभएको कारण छोरीलाई त्यहाँ छाडेको बताइन् । उपचार तथा झारफुक पश्चात आफू निको भएपछि छोरी खोज्न थालेको उनको भनाइ छ ।
बालिकालाई आश्रममा ल्याएपछि आमा खोज्दा उनलाई सम्हाल्न आश्रमका संचालक सत्यनारायाण आलकोलाई हम्मेहम्मे परेको थियो । संचालक आलोकका अनुसार स्वास्थ्य अवस्था ठीक नहुँदा उपचार गराउनु परेको थियो । केही समयपछि बालिका स्वस्थ्य र आश्रमक बालबालिकासँग राम्ररी खेल्न र बस्न थालेकी थिइन् ।
झण्डै दुई महिना पश्चात अभिभावकले आफ्नो छोरी शुक्रबार आश्रमबाट जिम्मा लिएकी छन् ।
समसी गाउँपालिका कार्यालयका बाल अधिकारी संजय मण्डल र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रतिनिधि प्रहरी जवान अशोक महतोको रोहबरमा संचालक आलोकले बालिका अभिभावकको जिम्मा लागएका हुन् ।





