सडक सुधार गर्न माग गर्दै सडकमै ध्यानाकर्षण पत्र



बर्दिबास, भदौ ३० गते ।

कमला–ढल्केबर–पथलैया सडकखण्डको जीर्ण अवस्था तत्काल सुधार गर्न माग गर्दै बर्दिबास उद्योग वाणिज्य संघले सडक आयोजनाका प्रमुखलाई सडकमै ध्यानाकर्षण पत्र बुझाएको छ।

संघका अध्यक्ष दिपक बहादुर कार्की र कोषाध्यक्ष सुरेन्द्रराज लामाले कमला–ढल्केवर–पथलैया सडक आयोजना कार्यालयका प्रमुख राजेश साहलाई सोमबार बर्दिबास चोकको बीच सडकमा ध्यानाकर्षण पत्र बुझाएका हुन्।

नेपालीहरूको महान् चाडपर्व नजिकिँदै गएको अवस्थामा सडकको जीर्ण अवस्था, ठाउँ–ठाउँमा रहेका खाल्डाखुल्डी र अत्यधिक धुलोका कारण यात्रु, व्यवसायी तथा सर्वसाधारणले सास्ती खेप्नुपरेको संघले जनाएको छ। सडकको अवस्थाले दुर्घटनाको जोखिमसमेत बढाएको भन्दै संघले तत्काल मर्मतसम्भार गर्न माग गरेको छ।

ध्यानाकर्षण पत्रमा चाडपर्वका बेला सवारीसाधन तथा यात्रुको आवागमन बढ्ने भएकाले सडकमा रहेका जोखिमयुक्त स्थान तथा खाल्डाखुल्डी तत्काल पुर्न, सडकको धुलो नियन्त्रण गर्न र यातायात आवागमनलाई सुरक्षित तथा सहज बनाउन माग गरिएको छ।

सडकबाट उड्ने धुलोका कारण स्थानीय व्यवसायी, यात्रु तथा बासिन्दाको स्वास्थ्य र वातावरणमा समेत प्रतिकूल असर परेको संघले जनाएको छ।

ध्यानाकर्षण पत्र बुझ्दै आयोजना प्रमुख साहले सडक सुधारको काम तुरुन्तै सुरु गरिने प्रतिबद्धता जनाएका छन्। चाडपर्वलाई मध्यनजर गर्दै सडकको जोखिमयुक्त स्थानमा आवश्यक मर्मत तथा धुलो नियन्त्रणका काम अघि बढाइने उनले बताए।

Scroll to Top