काठमाडौँ, भदौ ३१ गते ।
काठमाडौँ महानगरपालिकाले गरेको कार्यसम्पादनको प्रारम्भिक मूल्याङ्कनमा ७० दशमलव पाँच अङ्क प्राप्त गरेको छ।
कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको ५८औँ कार्यपालिका बैठकले प्रारम्भिक नतिजामाथि छलफल गरी पृष्ठपोषणका लागि आवश्यक विवरण जिल्ला समन्वय समितिमा पठाउने निर्णय गरेको छ।
उक्त मूल्याङ्कन आर्थिक वर्ष २०८२/८३ को हो। स्थानीय तहको बजेट, योजना तथा कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०८२ अनुसार विभिन्न सूचक तय गरिएका छन्। मूल्याङ्कनमा सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास तथा वन, वातावरण र विपद् व्यवस्थापन गरी पाँच क्षेत्र समेटिएका छन्।
महानगरपालिकाका अनुसार कार्यसम्पादन मूल्याङ्कनलाई व्यवस्थित र प्रभावकारी बनाउन योजना अनुगमन तथा निरीक्षणलाई एकीकृत गरिएको छ। यसका आधारमा तयार गरिएको एकीकृत प्रतिवेदन भदौ १५ गतेभित्र प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेस गरिनेछ।
प्रमुख प्रशासकीय अधिकृतले मूल्याङ्कन समन्वय समितिमा छलफल गराई प्रमुखसमक्ष पेस गर्ने र सम्बन्धित शाखाबाट प्राप्त प्रारम्भिक नतिजालाई विषयगत समितिमा छलफलका लागि पठाउने व्यवस्था गरिएको छ। महानगरपालिकाले सूचकगत अङ्क र त्यसको पुष्टि हुने प्रमाण तथा कागजातको अध्ययन र विश्लेषण गरी मूल्याङ्कनको अन्तिम नतिजा असोज मसान्तभित्र सार्वजनिक गर्ने जनाएको छ। रासस





