मुम्बई, भदौ २१ गते ।
मुम्बई प्रहरीले अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा विरुद्ध ६० करोड भारु ठगीको मुद्दामा ‘लुकआउट सर्कुलर’ जारी गरेको छ ।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार, दुई जना प्रायः विदेश यात्रा गरिरहने भएकाले अनुसन्धानमा कुनै बाधा नआओस् भनी यो कदम चालिएको हो ।
मुम्बईका व्यापारी दीपक कोठारीले गत अगस्ट १४ मा शिल्पा र राज कुन्द्राविरुद्ध मुम्बई प्रहरीको आर्थिक अपराध शाखामा उजुरी दर्ता गराएका थिए । कोठारीका अनुसार, सन् २०१५ देखि २०२३ को बिचमा उनले व्यापार बढाउन भन्दै यो जोडीलाई कूल ६०।४८ करोड रुपैयाँ दिएका थिए । तर, उनीहरूले उक्त रकम कम्पनीमा लगानी गर्नुको सट्टा व्यक्तिगत खर्चमा प्रयोग गरेको आरोप कोठारीको छ ।
कोठारीका अनुसार, सन् २०१५ मा उनको भेट एजेन्ट राजेश आर्यमार्फत शिल्पा र कुन्द्रासँग भएको थियो। त्यसबेला उनीहरू ‘बेस्ट डिल टिभी’ नामक कम्पनीका निर्देशक थिए र शिल्पाको कम्पनीमा शेयर थियो ।
एक बैठकमा, कोठारीले शिल्पा र कुन्द्राको कम्पनीलाई वार्षिक ब्याजदरमा ७५ करोड रुपैयाँ ऋण दिने सहमति भएको थियो । तर, पछि करसम्बन्धी समस्या आउने भन्दै उक्त रकमलाई लगानीका रूपमा देखाउने र मासिक रूपमा फिर्ता दिने भनिएको कोठारीको भनाइ छ ।
करोडौँको लेनदेन
अप्रिल २०१५ मा कोठारीले पहिलो किस्ताबापत ३१।९५ करोड रुपैयाँ दिएका थिए। त्यसपछि कर समस्या जारी रहेपछि सेप्टेम्बरमा अर्को सम्झौता भयो, र जुलाई २०१५ देखि मार्च २०१६ को बिचमा उनले थप २८.५४ करोड रुपैयाँ हस्तान्तरण गरे । कोठारीले कूल ६०।८ करोड रुपैयाँका साथै स्ट्याम्प ड्युटीका रूपमा ३।१९ लाख रुपैयाँ पनि तिरेका थिए ।
कोठारीको दाबीअनुसार, अप्रिल २०१६ मा शिल्पाले उनलाई व्यक्तिगत ग्यारेन्टीसमेत दिएकी थिइन्, तर सोही वर्षको सेप्टेम्बरमा उनले कम्पनीको निर्देशक पदबाट राजीनामा दिइन् । यसपछि शिल्पाको कम्पनीमा १.२८ करोड रुपैयाँ ऋण नतिरेको अर्को मुद्दा पनि बाहिर आएको थियो ।
आफ्नो पैसा फिर्ता माग्दा पनि कुनै जवाफ नआएपछि कोठारीले कानुनी बाटो रोजेका हुन् । सुरुमा यो मुद्दा जुहू प्रहरी चौकीमा दर्ता भएको थियो । रकम १० करोडभन्दा बढी भएकाले अनुसन्धानको जिम्मेवारी आर्थिक अपराध शाखालाई दिइएको छ । एजेन्सी





