जेनजी आन्दोलन : तीन प्रहरीको ज्यान गयो



काठमाडौँ, भदौ २५ गते ।

जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बुधवार उनीहरूको मृत्यु पुष्टि भएको जानकारी दिए ।

उनले महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा आज मृत्यु भएको राससलाई जानकारी दिए ।

यो सँगै उक्त आन्दोलनमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । यसअघि यही भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो । अन्य ४०० बढी घाइते भएका थिए ।

यसैबीच उनले अहिलेसम्म देशभरका विभिन्न कारागारबाट १३ हजार ५०० बढी कैदी तथा ५०० जति थुनुवा पनि फरार भएका जानकारी दिए ।

Scroll to Top