जनकपुरधाम, माघ १५ गते ।
प्रथम गणतन्त्रवादी शहिद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषण गर्न माग गरिएको छ । शहीद दुर्गानन्द स्मारक संरक्षण समितिद्वारा जनकपुरधाम २३ सोनामाई स्थानस्थित शहिद दुर्गानन्द स्मारकमा बिहीवार आयोजित ६२औँ बलिदान दिवसको अवसरमा उक्त माग गरिएको हो ।
मधेस प्रदेशका सभामुख रामआशिष यादवले अमर शहिद दुर्गानन्द झा प्ररेणाका स्रोत केन्द्र रहेकोले उहाँको योगदान, देश र जनताको हितमा खेलेको अहम भूमिकाबारे अभिलेखालय स्थापना गर्न गराउन विशेष आग्रह गरे ।
उनले दुर्गानन्द झाका सहयात्री क्रान्ति वीर महामना राजेश्वर नेपालीको अथक प्रयासवाट दुर्गानन्द झाको पूर्णकदको सालिकप्रति आभार प्रकट गरेको छ ।
पूर्वमन्त्री जुलीकुमारी महतोले गङ्गालाल, धर्मभक्त, दशरथचन्द र शुक्रराजले राणाशासनविरुद्धको आन्दोलन गर्दा राजाले सहयोग गरेका थिए तर गणतन्त्रका प्रथम शहिद दुर्गान्द झाले राजतन्त्र समाप्तिका लागि बलिदान दिएकाले उहाँलाई गणतन्त्रका प्रथम शहिद मानिएको जिकिर गरिन् ।
स्मारक समितिको अध्यक्ष तथा वडाध्यक्ष राघवेन्द्र साहले शहिद झाको प्रेरणाप्रद बलिदानमाथि बृहत प्रकाश पारे । वरिष्ठ पत्रकार श्रीनारायण साहले शहीद झालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरे ।
कार्यक्रममा प्रा. रमेशकुमार साह, सीमञ्चल दैनिकका सम्पादक उपेन्द्र भगत नागबंशी, डा. शम्भु साह, सरफुदीन राइन, सफिकुल्ला राईन, वडा सदस्य विभादेवी ठाकुर, सकुन्ती देवी महरा, मोहिनुदीन राईन, पूर्ववडासदस्य कैलाश साह, देवेन्द्र महतो, सन्तोष चौधरी, गुलाव साहलगायतका वक्ताहरुले विचार व्यक्त गरेका थिए ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले दुर्गानन्द झाको योगदानलाई कदर गर्दै उनको अहम भूमिका र योगदानको चर्चा गरेको । गङ्गासागरको पूर्वी डिलमा योग शिविरको आयोजना गरिएको थियो । त्यसैगरी धनुषाको जटहीस्थित शहिद झा प्रवेशद्वारमा नेकपा (एमाले) की नेतृ जुलीकुमारी महतो र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले छुट्टाछुट्टै कर्यक्रम गरी बलिदान दिवस मनाएको हो ।





