रोशन कुमार महतो
बर्दिबास, माघ १९ गते ।
महोत्तरीको बर्दिबासमा गायक बेलबहादुर परियारको नयाँ लोकदोहोरी गीत फूल खस्यो को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति महोत्तरीको आयोजनामा बर्दिबासस्थित गौतम होटलमा भिडियो विमोचन कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका विशेष अतिथि बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले गायक परियारको लामो सांगीतिक योगदानको प्रशंसा गर्दै लोकसंस्कृति संरक्षणमा कलाकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले बर्दिबास नगरपालिकाका विभिन्न चाडपर्व तथा सांस्कृतिक कार्यक्रमहरूमा बेलबहादुर परियारले दिएको साथ र प्रस्तुतीलाई स्मरण गर्दै, कलाकारलाई प्रोत्साहन गर्न सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे। साथै, गीत–संगीतलाई व्यवसायिक रूपमा अघि बढाउन एल्बम÷भिडियो किनेर हेर्ने, प्रचार–प्रसार गर्ने र समर्थन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य शारदा थापाले लोकसंस्कृति, संस्कार र पहिचान जगेर्नामा यस्ता सिर्जनाहरूको योगदान महत्वपूर्ण हुने बताइन् । उनले बेलबहादुर परियारले विभिन्न कठिनाइका बीच पनि निरन्तर गीत–संगीतमा संघर्ष गर्दै आएको उल्लेख गर्दै स्थानीय तह र प्रदेशले यस्ता प्रतिभाको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने धारणा राखिन्।
कार्यक्रममा गायक बेलबहादुर परियारले आफ्नो सांगीतिक यात्रा सुनाउँदै सिन्धुली जिल्लाबाट सुरु भएको गीत–संगीतप्रतिको रुचि रेडियो नेपालसम्म पुगेको स्मरण गरे। उनले विगतमा जनवादी गीतदेखि लोकदोहोरीसम्मका विभिन्न सिर्जनामा आवाज दिएको बताए। पछिल्लो समय आफ्नै युट्युब च्यानल ९बेल बहादुर परियार आधिकारिक युटयुब च्यानल० बाट गीतहरू सार्वजनिक गर्दै आएको उनले जानकारी दिए।
परियारले ‘फूल खस्यो’ आफ्नो पाँचौँ एल्बम भएको उल्लेख गर्दै गीतको रेकर्डिङ तथा भिडियो निर्माणमा ठूलो खर्च लागेको बताए।
कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, कलाकार, सञ्चारकर्मी, राजनीतिक प्रतिनिधि तथा स्थानीय व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।





