काठमाडौँ, माघ २० गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मन्त्री र सांसदले खाएको तलबले देश समस्या नपरेको बताएका छन्।
मंगलबार बिहान झापा निर्वाचन क्षेत्र नंं. ५ स्थित कमल गाउँपालिकाको सुकुम्बासी बस्तीमा भेटघाटका क्रममा स्थानीय बासिन्दाले प्रदेश संरचनाबारे प्रश्न गरेका थिए। एक स्थानीय बासिन्दा बजेट नभए प्रदेश संरचना खारेज गर्नुपर्ने तर्क गरेका थिए।
त्यसको जवाफमा शाहले प्रदेश संरचनामा धेरै खर्च नभएको बताए। ‘प्रदेश संरचनामा न्यून खर्च हो। तलबमा जाने न्यून खर्च हो। त्यो (धेरै खर्च भन्ने) पनि एक भ्रम हो,’ शाहले भने।
स्थानीय युवाले प्रदेशका मन्त्री र सांसदले धेरै तलब खाइरहेको जिकिर गरेका थिए। ‘मन्त्रीले र सांसदले खाएको तलबले देश डुबेको होइन,’ शाहले थपे, ‘तिनीहरूले बाहिर (भ्रष्टाचार) गरेर देश डुबेको हो।’
आगामी निर्वाचनमा देशमा परिवर्तन ल्याउन र युवाको भविष्य सुनिश्चित गर्न रास्वपाले ठोस योजनासहित अगाडि बढ्ने उनको भनाइ थियो। यसबारे आउँदो फागुन पहिलो साता पार्टीको घोषणापत्र र स्थानीय एजेन्डा सार्वजनिक गरिने उनले बताए।
हरेक क्षेत्र, किसान, व्यापारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै र विशिष्टीकृत योजनाहरू तयार पारिएको उनको भनाइ थियो।





