बाँके, चैत २ गते ।
जिल्लाको डुडुवा गाउँपालिका–२ रामनगर पाझा गाउँमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।
आज दिउँसो भएको आगलागीबाट पाँच घर जलेर पूर्ण रूपमा नष्ट भएकामा नेपालगञ्जबाट गएको बारुणयन्त्र र स्थानीयको सयुंक्त पहलमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
सामुदायिक विपद् व्यवस्थापन समितिका राममनोहर यादवले आगलागीबाट स्थानीय लल्लन यादव, बाँके यादव, बल्ले गोडिया, बाबादीन गोडिया र शिवबक्स गोडियाको घर जलेर नष्ट भएको जानकारी दिए ।
आगलागीबाट घरभित्र रहेको नगद रकम, गैरखाद्य सामग्री, लत्ताकपडा जलेर नष्ट भए पनि क्षतिको पूर्ण विवरण अझै आएको छैन । प्रहरी र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले क्षतिको तथ्याङ्क सङ्कलन गर्ने जनाइएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आगलागी घटनाप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल राहतको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ ।





