काठमाडौं, वैशाख ४ गते ।
सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ । न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवेहलना मुद्दामा तारिख खेप्न वारेसको सुविधा दिएको हो ।
अब मुद्दाको तारेखको दिन प्रधानमन्त्री शाहको साटो उनका वारेस गएर पनि तारिख लिन पाउनेछन् । यसअघि सर्वोच्च अदालतले शाहलाई यस्तो सुविधा दिएको थिएन ।
तीन वर्षदेखि शाहविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा चलिरहेको छ । उच्च अदालत पाटनले तीन वर्षअघि सिनेमा हलहरूमा हिन्दी सिनेमा नरोक्न अन्तरिम आदेश दिएको थियो । त्यो आदेशलगत्तै तत्कालीन मेयर शाहले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर अधिवक्ता वर्षा झाले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दिएकी थिइन् ।





