काठमाडौँ, वैशाख १० गते ।
कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिको विषयलाई उच्च प्राथमिकतामा राख्दै परराष्ट्र मन्त्रालयसँग पहलका लागि छलफल गरिएको छ ।
उनले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै मल आपूर्तिमा देखिएका समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरिएको हो ।
पश्चिम एसियामा देखिएको सङ्कटका कारण मल आपूर्तिमा थप समस्या भइरहेको भन्दै मन्त्री चौधरीले आपूर्तिको व्यवस्थापन सहज गर्न पहल गरिदिन परराष्ट्रमन्त्री समक्ष आग्रह गरिएको हो ।
मौज्दात भएको रासायनिक मलको व्यवस्थापनका लागि मन्त्रालयले सरोकार भएका निकायलाई जानकारी गराइसकेको छ । हालसम्म सरकारसँग करिब असारसम्म पुग्ने मल मौज्दात रहेको मन्त्री चौधरीकी प्रेस संयोजक सरिता थारुले जानकारी दिए । उनका अनुसार सोपश्चात्का लागि मन्त्री चौधरीले थप एक लाख ५० हजार मेट्रिकटन मल जिटुजी (सरकार–सरकार) माध्यमबाट खरिद गर्ने निर्णय गरिसकिको छ ।
गत चैत १९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतीय पक्षसँग आवश्यक समन्वय अघि बढाइएको प्रेस संयोजक थारुले जानकारी दिए । नेपालस्थित भारतीय दूतावाससँग पनि सम्पर्क गरी प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
यसबीच, वैकल्पिक व्यवस्थापनका लागि अन्य क्षेत्रबाट पनि पहल भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।





