काठमाडौं, वैशाख १० गते ।
कमला नदीमा नयाँ पुल निर्माणको कार्य तत्काल अगाडि बढाउन माग राखेर संघर्ष समितिले मधेश प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
‘नयाँ कमला पुल निर्माण संघर्ष समिति सिराहा–धनुषा’ ले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई बिहीबार ज्ञापनपत्र बुझाएको हो ।
७ भदौ २०८१ मा मधेश प्रदेश सरकार र संघर्ष समिति बीच भएको सहमति कार्यान्वयन नभएको भन्दै समितिले तत्काल पुल निर्माण कार्य अघि नबढे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
दुई वर्ष बित्न लाग्दा समेत सहमति पूर्ण रूपमा कार्यान्वयन नभई अल्मल्याउने, टार्ने र जनतालाई झुक्याउने काम मात्र भएको समितिको आरोप छ ।
आर्थिक वर्ष २०८२/८३ समाप्त हुन लाग्दा पनि नयाँ पुल निर्माणको ठेक्का प्रक्रिया सुरु समेत नगरिएको समितिले जनाएको छ ।
जीर्ण अवस्थामा रहेको पुरानो पुलको मर्मत कार्य समेत प्रभावकारी रूपमा हुन नसकेको भन्दै समितिले सात दिनभित्र ठेक्का प्रक्रिया अघि नबढाए अनसन, चक्काजाम र सडक अवरोध जस्ता आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री यादवले यसविषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । उनले १५ वर्षदेखि जीर्ण रहेको यो पुल मधेशको जीवनरेखा भएको स्वीकार गर्दै यसको निर्माण नितान्त आवश्यक रहेको बताए ।
उनले भने, ‘यो मार्ग हुलाकी सडक अन्तर्गत पर्ने र संघीय सरकारको कार्यक्षेत्रमा रहेकाले हामीले संघसँग समन्वय गरिरहेका छौँ । यो वर्षको रेड बुकमा १ करोड रुपैयाँ छुट्याइएको भए पनि यसले मात्र पुल बन्दैन । यसको लागत करिब २ अर्बभन्दा बढी हुने देखिन्छ ।’
मुख्यमन्त्री यादवकाअनुसार पुल निर्माणका लागि स्रोतको सुनिश्चितता हुनुपर्ने र त्यसका लागि संघीय सरकारसँग निरन्तर छलफल भइरहेको छ ।
उनले संघर्ष समितिलाई धैर्य गर्न र सरकारको प्रयासमा सहयोग गर्न समेत आग्रह गरे । वर्तमान पुलको डिजाइनमा समेत त्रुटि रहेको र त्यसलाई सच्याएर हुलाकी मार्गसँग पूर्ण रूपमा जोड्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए ।





