म्याग्दी, वैशाख १२ गते ।
म्याग्दीको मङ्गला गाउँपालिका–२ कुहुँमा सञ्चालित चन्निका घुम्तीदेखि उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।
आगामी जेठ १५ गतेसम्मको ठेक्काको म्याद रहेको योजनाको निर्माण कम्पनी मङ्गला कन्ट्रक्सनले इन्धन र निर्माणजन्य सामग्रीको मूल्य वृद्धिको बावजुद पनि लक्ष्यभन्दा डेढ महिनाअघि नै काम सम्पन्न गरेको हो ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ मा रु ५० लाख बजेट बिनियोजन गरेको उक्त योजना निर्माणका लागि पूर्वाधार विकास कार्यालय, म्याग्दी र कम्पनीबीच २०८२ माघ ६ गते रु ४६ लाख २९ हजार १२४ मा ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का सम्झौता लगत्तै मजदुर, उपकरण परिचालन र निर्माण सामग्री ब्यवस्थापन गरेर गत चैत महिनामै निर्माण सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक चक्रलाल पाण्डे (राजु)ले बताए । कार्यालयका अनुसार उक्त योजनाको ९६ दशमलब २२ प्रतिशत भौतिक प्रगति भएको छ ।
कार्यालयका अनुसार उक्त योजनामार्फत कुहँ गाउँभित्र ५१ मिटर दुरीमा सडक फराकिलो पारेर मेसिनरी पर्खाल र नाली निर्माण भएको छ । उपल्लो तुसारेपानीदेखि कुहुँतर्फ जाने सडकको २५० मिटर दुरीमा फराकिलो पार्ने, ग्रेड तथा घुम्ती सुधार भएको छ ।
उपल्लो तुसारेपानी र कुहुँकोबीचमा रहेको डाडाँको घुम्तीमा १२८ घनमिटर ग्यावियन पर्खाल लगाएर सडक फराकिलो पारिएको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर रविन चोखालले बताए ।
कुहुँका बासिन्दा रविन पुनले सडक सुधार भएपछि सवारी साधन आवत जावत सहज र सुरक्षित भएको बताए । मार्ग खुलेपछि सामान्य मर्मतको भरमा जिप, मोटरसाइकल र ट्याक्टर सञ्चालन हुँदै आएको साँघुरो सडकमा गाडी फर्काउने ठाउँ नभएर ३०० मिटर टाढा लैजानुपर्ने समस्याको अन्त्य भएको पुनले बताए ।
सडकको शुक्रबार अनुगमन गर्न जानुभएका म्याग्दी १९ख० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुम्जाली र पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनयर डिभिजनल ईञ्जिनियर डा महेन्द्र बानियाले मूल्यवृद्धिको असहज अवस्थामा पनि लक्ष्य अघिनै योजना निर्माण सम्पन्न गरेर ब्यवसायीले सकारात्मक सन्देश दिएको प्रतिक्रिया दिए ।
कार्यालय प्रमुख बानियाँका अनुसार यस वर्ष सञ्चालन भएका अन्य दुई वटा योजना पनि लक्ष्य अघिनै सम्पन्न भएका छन् । निर्माण कम्पनीले रु ४६ लाख ७९ हजार ९८१ मा ठेक्का सम्झौता गरेको घारखोला–नेपाने सडक र रुप्से बिल्डर्सले रु ३५ लाख १७ हजार ३३७ मा ठेक्का लिएको ज्ञानप्रकाश माविदेखि कोट–खलङ्गा हुँदै ठारा जाने सडक पनि निर्माण सम्पन्न भएको कार्यालय प्रमुख बानियाँले बताए ।





