तारकेश्वरको थापागाउँमा सार्वजनिक जग्गाको संरक्षण गरिदैँ



काठमाडौँ, वैशाख १७ गते ।

काठमाडौँको तारकेश्वर नगरपालिका–७ फुटुङमा अतिक्रमण गरी भाडामा लगाइएका सार्वजनिक जग्गामा डोजर लगाइएको छ ।

सार्वजनिक जग्गा संरक्षण समितिको निर्णयअनुसार तारकेश्वर नगरपालिकाले बुधबारदेखि फुटुङस्थित थापागाउँमा डोजर लगाएको हो । नगरपालिकाले अतिक्रमण गरेर भाडामा लगाइएको करिब दुई रोपनी जग्गा संरक्षण गरेको हो ।

तारकेश्वरकी उपप्रमुख तथा सार्वजनिक जग्गा संरक्षण समितिकी संयोजक सृजना बुर्लाकोटीले थापागाउँ क्षेत्रमा बनेका टहरा, सटर तथा अन्य संरचना हटाइएको जानकारी दिए ।

थापागाउँको उक्त सरकारी जग्गामा चाँडै सूचना बोर्ड राखिने उनको भनाइ छ । उनले तारकेश्वर क्षेत्रमा अतिक्रमण भएका अन्य सार्वजनिक जग्गाको विवरण प्रमाणसहित नगरपालिकामा उपलब्ध गराउन स्थानीयवासीलाई आग्रह गरिएको छ ।

स्थानीयवासीको मागअनुसार यसअघि नै विसं २०७५ पुस १७ गते वडा नं. ७ ले पहिलोपटक सातदिने सूचना जारी गर्दै अतिक्रमण हटाउन अनुरोध गरेको भए पनि हटाउन सकिएको थिएन ।

नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्दै अब थप कडाइका साथ अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ ।

Scroll to Top