पूर्वाधार अभावमा ओझेलमा सन्तानेश्वर क्षेत्र



बाँके, वैशाख २३ गते ।

बाँकेको नरैनापुर गाउँपालिकास्थित चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीयस्थल सन्तानेश्वर महादेव मन्दिर पुग्नका लागि आवश्यक पर्ने पूर्वाधार बन्न नसक्दा सो क्षेत्र ओझेलमा पर्दै गएको छ ।

मन्दिर क्षेत्र पुग्ने सडक, भक्तजन बस्ने विश्रामस्थल, खानेपानी र बिजुली बत्तीजस्ता आधारभूत सुविधासमेत नहुँदा यहाँ पुग्ने धार्मिक पर्यटक तथा भक्तजनले कष्ट व्यहोर्नुपरेको मन्दिरका मुख्य पुजारी गुरु योगानन्द गिरीले बताए ।

“यहाँसम्म आउने बाटो राम्रो छैन, पानी पर्दा भक्तजनलाई ओत लाग्ने आश्रयस्थल छैन”, मुख्य पुजारी गुरु योगानन्द गिरीले भने, “गर्मीको समयमा लामो पैदलयात्रा गरेर आएका भक्तजनलाई खानेपानीको व्यवस्था गर्न सकिएको छैन ।”

नेपालगञ्जदेखि करिब ३० किलोमिटर टाढापर्ने शन्तानेश्वर मन्दिर पुग्न करिब छ किलोमिटर जङ्गलको कच्ची बाटोमा मोटरसाइकल यात्रा र त्यसपछि करिब दुई किलोमिटर पैदलयात्रा गरी उकालो पहाड चढ्नुपर्छ । तर सडकको अवस्था अत्यन्तै कमजोर रहेकाले कठिनाइ हुने गरेको उनको भनाइ छ ।

सन्तानेश्वर मन्दिर पछिल्लो पटक धार्मिक पर्यटकको रोजाइमा परे पनि त्यहाँ पुग्ने सडकको अवस्था दयनीय रहेकाले पर्यटन प्रवर्द्धन हुन नसकेको पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

“सन्तानेश्वरमा धार्मिक पर्यटनको प्रचुर सम्भावना छ तर यसमा लगानी गरेर संरक्षण र सम्वर्द्धन गर्ने काम गर्न सकिएको छैन”, श्रेष्ठले भने, “धार्मिक पर्यटकीयस्थलसम्म सहज रुपमा पुग्नसक्ने सडक, खानेपानी र बिजुली बत्तीलगायत पूर्वाधार विकासमा ध्यान पुगेको छैन ।”

जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीय स्थललाई समेटेर पर्यटन मार्गको अवधारणा अगाडि बढाइए पनि बजेट अभावमा योजना कार्यान्वयन हुन नसकेको मदन भण्डारी धार्मिक पर्यटन मार्ग संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष कृष्ण भुसालले बताए ।

“जिल्लामा रहेका कतिपय ऐतिहासिक मठमन्दिरको प्रचारप्रसार र संरक्षण नहुँदा जीर्ण भएका छन् भने जिल्लामै रहेका त्यस्ता धार्मिक पर्यटकीय स्थलका बारेमा जिल्लावासीलाई जानकारी नभएको अवस्था छ”, अध्यक्ष भुसालले भने, “धार्मिक पर्यटकीय क्षेत्रको प्रचार गर्ने जिल्लावासीलाई घुमाउने र संरक्षण संरक्षण गर्न समिति प्रयासरत छ ।”

उनले समितिको पहलमा नरैनापुरको कोहलादेखि सन्तानेश्वर मन्दिर जोड्ने सडक निर्माणका लागि गत आर्थिक वर्षमा एक करोड बजेट विनियोजन भए पनि त्यो पर्याप्त हुन नसकेको बताए ।

Scroll to Top