नारायणगढ–मुग्लिन खण्डमा पहिरो रोक्न ठेक्का आह्वान



चितवन, वैशाख २५ गते ।

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो जोखिम क्षेत्र तुइन खोला र नाम्सी खोला आसपासका क्षेत्रमा पहिरो रोकथामको काम गर्न ठेक्का आह्वान भएको छ । सडक डिभिजन कार्यालय भरतपुरले आज एक सूचना जारी गर्दै पहिरो रोकथामको काम गर्न २५ करोडको ठेक्का आह्वान गरेको हो ।

यो खण्डको सडक विस्तार तथा पुल निर्माणका क्रममा भित्ता काट्दा कमजोर चट्टान झरेर हरेक वर्ष पहिरो जाने गरेको छ ।

डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बर्खा र सुक्खायाममा आउने पहिरो रोकथामका लागि जेठ १८ गतेसम्मको समय सीमा तोकेर ठेक्का आह्वान गरिएको जानकारी दिए । ‘पहिरो नियन्त्रणका लागि २५ करोड रुपैयाँ बजेट सुनिश्चित भएको छ । यो रकम आर्थिक वर्ष २०८२/८३ र २०८३/८४ का लागि खर्च गर्न मिल्ने गरी विनियोजन गरिएको हो,’ उनले भने ।

रक एङ्करिङ र रक नेटिङ जस्ता प्रविधि प्रयोग गरेर पहिरो रोकथामको काम गरिने प्राविधिकहरुले जनाएका छन् ।

हरेक वर्ष दुःख दिँदै आएको तुइन खोला र नाम्सी खोला क्षेत्रको पहिरो रोकथाममा ढिलासुस्ती हुँदा यात्रुले हरेक वर्ष यात्राका क्रममा दुःख पाएका थिए । बर्खा लागेपछि सडक डिभिजनले ठेक्का लगाए पनि काम गर्न असहज हुन सक्ने देखिएको छ ।

रातको समयमा पहिरो या ढुङ्गा खस्दा टाढाबाट प्रष्टसँग देख्न सकियोस् भनेर डिभिजन सडक कार्यालयले दुईवटा फ्लड लाइट र पहिरोको अवस्था हेर्न सिसी क्यामेरा जडान गरेको छ ।

तुइनखोला पुलको नारायणगढतर्फको भागमा भित्ता काट्दा कमजोर चट्टान भएका कारणले पहिरो जाने गरेको छ । यहाँ १०५ मिटर माथिबाट झरेको पहिरोको लम्बाइ १६५ मिटर छ । गत वर्ष असोज ३ र ७ गते तुइन खोलामा माथिबाट पहाड नै खसेको थियो । पहिरो पन्छाएर यातायात सन्चालन गर्न ३ दिन लागेको थियो ।

राजधानी काठमाडौं, पोखरा लगायतका शहरहरुको लाइफलाइन मानिने यो सडकखण्ड भएर दैनिक १० हजारभन्दा बढी साना ठूला सवारी साधन आवतजावत गर्ने अनुमान छ ।

३६ किलोमिटर लामो यो सडकखण्डमा २६ मध्यम, १४ सामान्य र ९ वटा उच्च जोखिम क्षेत्र छन् । त्यसमध्ये तुइन र नाम्सी सबैभन्दा उच्च जोखिम क्षेत्र हुन् ।

Scroll to Top