धनगढी, वैशाख २६ गते ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनबारे कांग्रेस र एमालेबाहेक अन्य समीकरण बन्ने सम्भावना नरहेको बताएका छन् ।
कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले प्रदेश सरकारको विषयमा अनावश्यक भ्रममा नपर्न आग्रह गरे ।
अहिले ६ प्रदेशमा कांग्रेस–एमालेबीचको समझदारीमा सरकार रहेको उल्लेख गर्दै सभापति थापाले नेतृत्व परिवर्तन वा सरकार सञ्चालनसम्बन्धी विषय दुई दलबीचकै छलफलको विषय हुने बताए ।
‘हामी प्रदेश निर्वाचनको सम्मुखमा आएका छौं । अहिले कांग्रेस–एमालेबीच संयुक्त सरकार छ । त्यसभित्र नेतृत्व आउने(जाने वा सरकार सञ्चालनसम्बन्धी समझदारी कांग्रेस र एमालेबीचकै छलफलका विषय हुन् । कांग्रेस–एमालेबाहेक अर्को सरकार बन्छ भन्ने कुराबाट अलमलमा रहन आवश्यक छैन,’ उनले भने ।
सभापति थापाले मधेश प्रदेशमा हाल कायम सत्ता समीकरणले नै निरन्तरता पाउने पनि स्पष्ट पारे । उनका अनुसार मधेश प्रदेशमा कांग्रेस, माओवादी तथा मधेशकेन्द्रित दलहरू सम्मिलित सरकार यथावत् रहनेछ ।
‘हामी मधेशमा माओवादीसहितका मधेशकेन्द्रित दलहरूसँग संयुक्त सरकारमा छौं,’ सभापति थापाले भने, ‘त्यहाँ अहिले जे अवस्था छ, त्यहीअनुसार सरकार अगाडि बढ्छ ।’
सभापति थापाले कांग्रेस र एमालेबीच सरकारको नीति तथा कार्यक्रम, बजेट र नेतृत्वलगायत विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए । प्रदेश सरकारसम्बन्धी उपसभापति विश्वप्रकाश शर्माले छलफल पार्टीका तर्फबाट गरिरहेको पनि उनले बताए ।




