नेपालको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो



काठमाडौं, वैशाख २६ गते ।

नेपालको कूल ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युत्‌का आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादितबाहेक चार हजार २९६ मेगावाट क्षमता निर्धारण भएको हो । चालु आर्थिक वर्षको अन्त्यसम्म कूल जडित क्षमता चार हजार ५०० मेगावाटभन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ ।

हाल निर्माणको क्रममा तीन हजार मेगावाट क्षमताका आयोजना छन्, भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ६६ केभीभन्दा माथिका करिब सात हजार ३६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

यस्तै, १४ हजार ३२३ एमभिए क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने ३३ केभी क्षमताका करिब आठ हजार २२५ सर्किट किलोमिटर प्रसारण लाइन तथा तीन हजार ३०८ एमभिए क्षमताको सबस्टेसन निर्माण भएका छन् ।

सरकारको पहल र सक्रियता, नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको विशेष अभियानका कारण देशभरको विद्युत् चुहावट १२ दशमलव पाँच प्रतिशतमा सिमित भएको प्राधिकरणले जनाएको छ ।

यस्तै प्राविधिक चुहावटलाई क्रमशस् घटाउँदै लैजाने लक्ष्य राखिएको छ । सवस्टेसनको क्षमता विस्तार, प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट क्रमशस् घटाइने मन्त्रालयले स्पष्ट पारेको छ ।

यसैगरी प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा बराबर पुगेको छ । हालसम्म राष्ट्रिय विद्युत् प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युत्मा पहुँचमा पहुँच प्राप्त जनसङ्ख्या ९९ प्रतिशत बराबर पुगेको छ ।

हालसम्म विद्युत् निर्यात दुई हजार ९१८ गिगावाट प्रतिघण्टा छ भने विद्युत् आयात करिब ५९० गिगावाट घण्टा भएको छ ।

हालसम्म सौर्य विद्युत् उत्पादन क्षमता ६२ दशमलव सात मेगावाट बराबर पुगेको छ । लघु तथा साना जलविद्युत् आयोजनाबाट ५५ दशमलव तीन मेगावाट बराबर विद्युत् उत्पादन भएको छ ।

Scroll to Top