इरानसँगको सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशन



एजेन्सी, जेठ ११ गते ।

अमेरिकी राष्ट्रपति डोनाल्ड इरानसँगको सम्भावित युद्धविराम तथा आणविक सम्झौतामा हतार नगर्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिएका छन्।

सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताइसकेका ट्रम्पले अहिले फेरि अझै धेरै विषयमा सहमति बाँकी रहेको संकेत गरेका हुन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै इरानसँग औपचारिक सम्झौता नभएसम्म हर्मुज जलडमरूमध्यमा इरानी जहाजमाथिको अमेरिकी नाकाबन्दी यथावत् रहने बताएका छन्।

‘मैले आफ्ना प्रतिनिधिलाई सम्झौतामा हतार नगर्न भनेको छु। दुवै पक्षले समय लिएर यसलाई सही ढंगले टुंग्याउनुपर्छ,’ ट्रम्पले लेखेका छन्।

‘इरानसँग सम्झौता भयो भने त्यो राम्रो र उचित हुनेछ, त्यसैले केही नबुझी आलोचना गर्नेहरूको कुरा नसुनौं,’ उनले थप भनेका छन्।

शनिबार मात्रै ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने समझदारीपत्र (एमओयू) लगभग अन्तिम अवस्थामा पुगेको बताएका थिए। सम्भावित सहमतिअनुसार विश्वको प्रमुख तेल मार्ग मानिने हर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइने अपेक्षा गरिएको छ।

तर अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीहरूले सम्झौता अझै अन्तिम टुंगोमा नपुगेको बताएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

‘प्रश्न इरानले युरेनियम हटाउँछ कि हटाउँदैन भन्ने होइन, कसरी हटाउने भन्ने हो,’ उनले भने।

इरानले सैद्धान्तिक रूपमा हर्मुज मार्ग खोल्न र उच्च तहमा संवर्द्धित युरेनियम हटाउन सहमति जनाएको छ, तर कार्यान्वयनका विस्तृत मोडालिटी अझै टुंगिएको छैन।

साथै इरानले विदेशमा रोकिएका सम्पत्ति फुकुवा र प्रतिबन्ध खुकुलो बनाउने विषय प्रारम्भिक चरणमै सुनिश्चित हुनुपर्ने अडान लिएको छ। इरानी समाचार संस्था तस्निमले अमेरिकाले अझै केही महत्वपूर्ण मागमा अवरोध गरिरहेको जनाएको छ।

सम्भावित सम्झौताले अमेरिकाभित्रै आलोचना खेपिरहेको छ।

अमेरिकी सिनेटर क्रिस भान होलेनले प्रस्तावित ढाँचालाई युद्धअघिकै अवस्थाको पुनरावृत्ति भन्दै आलोचना गरेका छन्।

यता इसराइलमा पनि सम्भावित सम्झौताप्रति चिन्ता बढेको छ।

इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सुरक्षा मन्त्रिपरिषद्को बैठक बोलाएर इरान वार्ताबारे छलफल गर्ने तयारी गरेका छन्।

Scroll to Top