द पब्लिक टुडे
गौशाला, जेठ १२ गते ।
डिभिजन वन कार्यालय महोत्तरीले बर्दिबास नगरपालिका–३ कालापानीको बस्ती हटाउन लागिएको भन्ने कुरा निराधार र भ्रमपूर्ण रहेको प्रष्ट पारेको छ ।
मंगलवार कार्यालयले सार्वजनिक अपिल गर्दै स्थानीय नागरिकहरूलाई भ्रममा नपर्न आग्रह गरेको हो ।
सोमवार दिउँसो करिब ४–५ बजेको समयमा बर्दिबास नगरपालिका वडा नं. ३, कालापानी क्षेत्रमा वन कर्मचारीहरू नियमित गस्तीमा गएका थिए । सोही क्रममा वन क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाई मौखिक रूपमा बस्ती खाली गराउने भनी हल्ला फैलाइएको र सोही विषयलाई लिएर नागरिकहरू उत्तेजित तथा आन्दोलित भएको प्रति कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नियमित गस्तीमा रहेका वन कर्मचारीहरूले मौखिक रुपमा भनिएको विषय बस्ती खाली गराउने योजना नरहेको, बुझाइएमा फरक परि स्थानीयवासी उत्तेजित, आन्दोलितप्रति गम्भिर ध्याकार्षण भएको कार्यालयले जारी गरको अपिलमा उल्लेख छ ।
अपिलमा ‘बस्ती हटाउने योजना नरहेको र त्यो योजना बनाएर सुरक्षा निकायसँग लिखित वा मौखिक कुनै अनुरोध नगरिएको उल्लेख छ ।
कार्यालयले स्थानीय नागरिकहरूसँगको समन्वय, सहकार्य र छलफलका लागि कार्यालय सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ । साथै, यस्ता संवेदनशील विषयमा आधिकारिक सूचना बिना आन्दोलित नहुन र भ्रमपूर्ण हल्लाको पछि नलाग्न सम्पूर्ण सर्वसाधारणमा अनुरोध गरेको छ ।
सोमवार दिउँसो वन डिभिजन कार्यालयबाट खटिएको टोलीले अतिक्रमित क्षेत्रमा गएर घर खाली गर्न सूचना जारी गरेपछि आक्रोसित भएका स्थानीयले सोमबार राति गाडीमा आगो लगाएका थिए भने मंगलवार बिहानै देखि विपी राजमार्ग अवरुद्ध गरि आन्दोल गरिरहेका छन् ।






