सुरेश राय
सिरहा, जेठ १्३ गते ।
मधेश प्रदेश सरकारका नवनियुक्त शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले शिक्षा क्षेत्र सुधार गर्दै साक्षरता दर वृद्धि आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।
मंगलबार पदभार ग्रहणपछि कुराकानी गर्दै मन्त्री सिंहले आफ्ना योजना र प्राथमिकताबारे जानकारी दिएका हुन् ।
मधेश प्रदेश शिक्षा तथा साक्षरताको क्षेत्रमा अन्य प्रदेशको तुलनामा पछाडि रहेको उल्लेख गर्दै उनले विद्यालय शिक्षा, विद्यार्थी पहुँच र शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिइने बताए । ‘मधेश प्रदेशलाई शिक्षाको क्षेत्रमा माथि उठाउनु अहिलेको आवश्यकता हो । साक्षरता दर वृद्धि गर्दै गुणस्तरीय शिक्षाको पहुँच गाउँ–गाउँसम्म पुर्याउने गरी काम अघि बढाइने छ,’ मन्त्री सिंहले भने ।
२०७८ सालको जनगणना अनुसार मधेश प्रदेशमा साक्षरता दर ६३.५ प्रतिशत छ । बागमतीको सबैभन्दा धेरै ८२.१ प्रतिशत छ । मन्त्री सिंहले शिक्षा क्षेत्र सुधारसँगै भाषा, कला तथा सांस्कृतिक संरक्षणका कार्यक्रमलाई समेत प्रभावकारी रूपमा अघि बढाउने योजना रहेको सुनाए ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सिंहलाई शिक्षा तथा संस्कृति मन्त्री पदमा नियुक्त गरेका हुन् । सिंह सिरहा क्षेत्र नं। ३ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले मंगलबार नै मन्त्री पदको शपथ ग्रहण गर्दै मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।





