सरकारले आज ल्याउँदैछ आगामी आर्थिक वर्षका लागि बजेट



काठमाडौं, जेठ १५ गते ।

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आज सरकारले बजेट ल्याउँदैछ।

शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नेछन्।

संघीय संसदको निर्माणधीन भवनको नयाँ हलबाट बजेट प्रस्तुत गरिने भनिएको थियो।

तर निर्माण नसकिएपछि यसअघि बैठक हुँदै आएको हलबाटै अर्थमन्त्रीले बजेट भाषण गर्नेछन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको बहुमतको सरकारले पहिलो पटक बजेट ल्याउन लागेका कारण यसलाई चासोका साथ हेरिएको छ।

बजेटलाई अन्तिम रूप दिनका लागि अर्थमन्त्री वाग्ले गए रातभरि नै मन्त्रालयमा बसेका थिए। उनी बिहानीपख मात्रै निवास गएका थिए।

झन्डै दुई–तिहाइ बहुमतसहित सत्ता पुगेको रास्वपाको यो पहिलो बजेटले खासगरी मध्यम वर्गका आर्थिक आकांक्षालाई कसरी सम्बोधन गर्छ भन्ने कुरा चासोका साथ हेरिएको छ।

अर्थ मन्त्रालयका अधिकारीहरू आगामी बजेट कम आय भएका व्यक्तिको आय विस्तार गरेर उपभोग क्षमता बढाउने ढंगले तयार गरिएको बताए।

यसका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष करको बोझ सीमित गर्ने, सानो पुँजीबाट गर्न सकिने लगानीलाई प्रोत्साहन गर्ने र बचत तथा उपभोग दुवैलाई चलायमान बनाउने गरी बजेटको ढाँचा बनाइएको अर्थका एक उच्च अधिकारीले बताएका छन्।

Scroll to Top