जलेश्वर, जेठ १५ गते ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा विविध कार्यक्रमको आयोजना गरी १९औँ गणतन्त्र दिवस मनाइएको छ । दिवसको अवसरमा शुक्रबार बिहान जलेश्वरस्थित दुर्गा चौकबाट जिरोमाइलस्थित शहीद पार्कसम्म प्रभातफेरी निकालिएको थियो ।
जिल्लास्तरीय गणतन्त्र दिवस समारोह समितिको आयोजनामा निकालिएको प्रभातफेरीमा जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्ण, जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, जलेश्वर भन्सार कार्यालयलगायत विभिन्न सरकारी कार्यालय, राजनीतिक दल, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
नेपाली सेनाको सांस्कृतिक ब्यान्डसहित निस्किएको प्रभातफेरी नगरका विभिन्न भागको परिक्रमा गर्दै जिरोमाइलस्थित शहीद पार्कमा पुगेर शहीदहरूको प्रतिमामा माल्यार्पण गरेपछि सम्पन्न भएको हो ।
त्यसैगरी मधेश आन्दोलन तथा विभिन्न लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका ज्ञात–अज्ञात शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो ।
गणतन्त्र स्थापनाका लागि सहादत दिने शहीदहरूको योगदानको स्मरण गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्ने जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्णले बताए ।
यसैगरी दिवसको अवसरमा जलेश्वर अस्पतालमा उपचाररत बिरामीहरूलाई जलेश्वर नगरपालिकाको समन्वयमा फलफूल वितरण गरिएको जिल्ला स्तरीय गणतन्त्र दिवस समारोह समितिले जनाएको छ । साथै शुक्रबार साँझ ७ बजे दीप प्रज्वलन गर्ने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।
जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाका प्रमुखरअध्यक्ष, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू सदस्य रहने गरी गठित समितिले जेठ १४ र १५ गते दुई दिने कार्यक्रम तय गरेको थियो ।
समितिले तय गरेअनुसार जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक निकाय, शैक्षिक संस्था, प्रतिष्ठान तथा संघ–संस्थाका परिसरमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजावट गरिएको थियो । साथै साँझ सरकारी तथा गैरसरकारी कार्यालय तथा घरघरमा दीप प्रज्वलन गर्ने कार्यक्रमसहित महोत्तरीमा गणतन्त्र दिवस भव्य रूपमा मनाइएको हो ।





