कमला पुल मन्त्री लम्सालले गरे निरीक्षण, स्थानीयको विरोध



काठमाडौं, जेठ २४ गते ।

सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला पुल १५ वर्षदेखि अलपत्र छ । सोही अलपत्र पुलको पछिल्लो अवस्था बुझ्न पूर्वाधार विकासमन्त्री सुनील लम्सालले स्थलगत निरीक्षण गरेका छन् ।

पूर्वी मधेसका विभिन्न जिल्लामा सञ्चालित विकास आयोजनाको अनुगमन गर्ने क्रममा मन्त्री लम्साल नेतृत्वको टोलीले कमला पुलको अवलोकन गरेको हो । १५ वर्षको अवधिमा लम्सालसहित १८ मन्त्रीले यसको निरीक्षण गरिसकेका छन् ।

मन्त्री फेरिने र निरीक्षण हुने क्रम चलिरहे पनि पुलको निर्माण कार्य अझै अधुरो छ । र, स्थानीय नागरिकले लामो समयदेखि सास्ती भोग्दै आएका छन् ।

वर्तमान सरकार बनेपछि निरीक्षणका क्रममा मन्त्री लम्साल पुग्दा स्थानीयले विरोध गरेका छन् । पुल निर्माण सम्पन्न गर्ने स्पष्ट कार्ययोजना सार्वजनिक नगरिएको भन्दै स्थानीयले मन्त्रीको निरीक्षणप्रति असन्तुष्टि जनाए ।

मन्त्री लम्सालले पुल निर्माणको काम अब कुनै बहानामा नरोकिने प्रस्ट पारेका थिए । उनले कमला पुल मात्र नभई अरू ठूला पूर्वाधार आयोजनाको पनि अनुगमन गरे ।

टोलीले काँकडभिट्टा–लौकही सडक आयोजनाका तीन खण्ड र सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्मको करिब ८७ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्यको प्रगतिको जानकारी लिएको छ ।

मन्त्री लम्सालले एसियाली विकास बैंक र विश्व बैंकको लगानीमा सञ्चालित विभिन्न पूर्वाधार परियोजनाको समेत निरीक्षण गरे । उनले आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण, समन्वय र प्रभावकारी अनुगमनलाई उच्च प्राथमिकतामा राखेको बताए ।

केही समयअघि मन्त्री लम्सालले बुटबल, मुग्लिङ, नागढुंगा सडकखण्डको अनुगमन गरेका थिए । उनले समयमै आयोजनाको काम सकाउन निर्देशन समेत दिएका थिए । न्युज एजेन्सी नेपाल

Scroll to Top