३१ लाखको लागतमा पक्की सडक निर्माण हुँदै



द पब्लिक टुडे
बर्दिबास, असार २ गते ।

महोत्तरीको बर्दिबास नगरपालिका–१२ स्थित अकुवानटोल–पाखरगाछी सडक खण्डमा सडक ढलानको काम अघि बढ्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेस प्रदेश अन्तर्गत भौतिक विकास पूर्वाधार कार्यालय जलेश्वरको आर्थिक सहयोगमा उक्त सडक निर्माण हुन लागेको हो ।

कार्यालयका इन्जिनियर बिरेन्द्र साहका अनुसार योजनाको कुल लागत भ्याटसहित ३६ लाख रुपैयाँ रहेको छ भने निर्माण लागत ३१ लाख ५५ हजार ८०९ रुपैयाँ रहेको छ । निर्माणको जिम्मा गहिल कन्स्ट्रक्सन, सप्तरीले पाएको छ ।

योजनाअन्तर्गत अकुवानटोल–पाखरगाछी सडक खण्डमा १७५ मिटर सडक ढलान गरिनेछ । निर्माण कार्यको तयारीका क्रममा सरोकारवालाहरूले स्थलगत निरीक्षण (साइट भिजिट) समेत गरेका छन् ।

स्थलगत निरीक्षणमा युवा नेता शंकर महतो, बर्दिबास नगरपालिका–१३ का वडा सदस्य ठाइक महतो, बिजलपुरा रुपान्तरण अभियानका संयोजक राजकरण महतो, स्थानीय हरि महतो लगायत स्थानीयवासीको सहभागिता रहेको थियो ।

स्थानीयहरूले सडक ढलानपछि वर्षायाममा हुने हिलो तथा आवागमन समस्याको समाधान हुने विश्वास व्यक्त गरेका छन् । उनीहरूले निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह समेत गरेका छन् ।

बिजलपुरा क्षेत्रमा पूर्वाधार विकासलाई तीव्रता दिने उद्देश्यका साथ सञ्चालन भइरहेको बिजलपुरा रुपान्तरण अभियान अन्तर्गत सडक, शिक्षा, कृषि तथा अन्य विकास निर्माणका गतिविधिहरूलाई निरन्तर अगाडि बढाइँदै आएको छ ।

Scroll to Top