महिला रहस्यमय मृत्यु प्रकरण : घटनाको ‘इपिसेन्टर’ खोज्दै प्रहरी, श्रीमानसहित तीन पक्राउ



राजकरण महतो
बर्दिवास, असार २ गते ।

  • आत्महत्या दुरुत्साहन मुद्दामा गहिरिँदै अनुसन्धान
  • पाँच जनामाथी किटानी जाहेरी : तीन पक्राउ, दुई फरार
  • रिंकुको मृत्यु आत्महत्या कि हत्या ? परिवारको आरोपपछि तीन जना हिरासतमा
  • बिजलपुरा घटनामा प्रहरीको कडा कदम
  • यातना, दोस्रो विवाह र सम्बन्ध बिच्छेदको के छ रहस्य ?

महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरामा विवाहित महिला रिंकु कुमारी सिंहको रहस्यमय मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका पति शशीकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललिता देवी सिंहलाई पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी तथा प्रवक्ता पञ्चलाल गोलेका अनुसार पीडित पक्षले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएपछि तीन जनालाई नियन्त्रणमा लिइएको हो । “जिल्ला अदालत जलेश्वरबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएका छौं । बाँकी दुई आरोपितको खोजी तीव्र बनाइएको छ,” उनले बताए ।

प्रहरी स्रोतका अनुसार घटनापछि फरार रहेका मृतकका नन्द र उनका पतिको खोजी भइरहेको छ । उनीहरूविरुद्ध पनि पीडित परिवारले किटानी जाहेरी दिएको छ ।

मृतकका बुवा शत्रुधन महतोले छोरीलाई लामो समयदेखि कुटपिट, मानसिक तथा शारीरिक यातना, गालीगलौज र घर निकाला गर्ने धम्की दिइँदै आएको आरोप लगाए । उनका अनुसार शशीकुमार सिंहले अर्को विवाह गरेपछि रिंकुमाथि सम्बन्ध विच्छेदका लागि निरन्तर दबाब सिर्जना गरिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले रिंकुले शुक्रबार आफ्नै कोठामा सलको पासो लगाएर आत्महत्या गरेको संकेत देखाएको छ । तर माइती पक्षले भने यो आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरिरहेको छ ।

घटनापछि बिजलपुरा तनावग्रस्त बनेको थियो । शुक्रबार राति आक्रोशित स्थानीय र माइती पक्षले आरोपितको घरमा तोडफोड गरेका थिए । घरमा पार्क गरिएको कारमा आगजनी गरिएको थियो भने मोटरसाइकल र स्कुटरमा समेत क्षति पु¥याइएको थियो । प्रहरीको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको थियो ।

शुक्रबार रातिदेखि शनिबार बिहानसम्म सयौं स्थानीय र माइती पक्षले आरोपितको घर घेराउ गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका थिए । यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच ढुंगामुढा समेत भएको थियो। अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको थियो ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमिल्सिनाले घटनाको निष्पक्ष, गहन र तथ्यमा आधारित अनुसन्धान गरिने तथा दोषी ठहरिए कानुनअनुसार कडा कारबाही गरिने प्रतिबद्धता जनाएपछि मात्रै मृतकको शवको मुचुल्का उठाइएको थियो ।

रिंकु कुमारी सिंहको मृत्यु आत्महत्या हो वा हत्या, त्यसको यथार्थ अब प्रहरी अनुसन्धान र प्रमाणहरूले उजागर गर्नेछन्। तर घटनाले बिजलपुरामा महिला हिंसा, पारिवारिक यातना र न्यायको सवाललाई फेरि एकपटक केन्द्रमा ल्याएको समाचार आजको द पब्लिक टुडे दैनिक पत्रिकामा प्रकाशित भएको छ ।

Scroll to Top