द पब्लिक टुडे
बर्दिवास, असार ३ गते ।
महोत्तरीको बर्दिवासमा विभिन्न सरकारी तथा सार्वजनिक संस्थाबाट अवकाश प्राप्त कर्मचारीहरूको साझा संस्था ‘पूर्व कर्मचारी समाज, बर्दिवास’ विधिवत् दर्ता भई सञ्चालनमा आएको छ ।
संस्थाले सेवा निवृत्त कर्मचारीहरूको ज्ञान, सीप र अनुभवलाई समाज तथा राष्ट्र निर्माणमा उपयोग गर्ने उद्देश्य राखेको सस्थाका अध्यक्ष राम कुमार कार्कीले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।
समाजले शिक्षा, स्वास्थ्य, सुशासन, ज्येष्ठ नागरिक कल्याण, वित्तीय साक्षरता, नीति–परामर्श, अध्ययन–अनुसन्धान तथा विपन्न वर्गको सहयोगलगायतका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ ।
संस्थाले स्थानीय सरकार, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सामाजिक संघसंस्थासँग सहकार्य र समन्वय गर्दै समाजोपयोगी कार्यक्रम संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, संस्थामा साधारण, संस्थापक, आजीवन तथा मानार्थ सदस्य रहने व्यवस्था रहेको जानकारी दिँदै इच्छुक व्यक्तिलाई सदस्यता लिन आग्रह गरेको छ ।
पूर्व कर्मचारी समाजले सामाजिक तथा मानवीय विकासका अभियानमा सबै पक्षको सहयोग, सद्भाव र सहकार्यको अपेक्षा गरेको समाचार आजको द पब्लिक टुडे दैनिकमा प्रकाशित भएको छ ।





