अनिल पोखरेल
धनुषा, असार ३ गते ।
मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री सारदा थापाले संघीय शासन व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउन सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएको छ ।
धनुषाको ढल्केवरमा बुधबारदेखि सुरु भएको ‘संघीयता सवलीकरणसम्बन्धी समाचार लेखन’ विषयक प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले संघीयताले शोषित, पीडित, पछाडि पारिएका तथा राज्यका अवसरबाट वञ्चित समुदायहरूको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए ।
उहाँले संघीय शासन व्यवस्थाले स्थानीय तहसम्म विकास र सेवा प्रवाह विस्तार गर्न उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्दै संघीयताविरुद्ध फैलाइएका भ्रमपूर्ण तथा नकारात्मक भाष्यलाई तथ्यका आधारमा चिर्न पत्रकारहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
“संघीयताले नागरिकलाई शासन प्रक्रियामा प्रत्यक्ष सहभागी बनाएको छ । यस व्यवस्थाको संरक्षण, सुदृढीकरण र प्रभावकारी कार्यान्वयनका लागि सञ्चार क्षेत्रको योगदान अपरिहार्य छ,” मन्त्री थापाले बताए ।
आम सञ्चार प्राधिकरण, मधेश प्रदेशद्वारा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्काले मधेश प्रदेश संघीयताको जननीका रूपमा परिचित रहेको उल्लेख गर्दै संघीयताको मर्म, उपलब्धि र आवश्यकता सम्बन्धी सही सूचना प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
उहाँले संघीयता खर्चिलो भएको तथा भ्रष्टाचार बढाएको भन्ने भ्रमपूर्ण धारणा विभिन्न माध्यमबाट फैलाइएकाले त्यसको तथ्यपरक विश्लेषण र समाचार सम्प्रेषणमार्फत वास्तविकता जनसमक्ष ल्याउन आवश्यक रहेको बताए । साथै पत्रकारहरूको क्षमता अभिवृद्धि तथा सेवा–सुविधा विस्तारका लागि प्राधिकरणले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्यका पूर्व सदस्य डा. खिमलाल देवकोटा, मधेश प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. भोगेन्द्र झा, संविधानसभा सदस्य प्रह्लाद लामिछानेलगायतले संघीय शासन व्यवस्था, प्रदेश अधिकार तथा सञ्चार क्षेत्रको भूमिकाबारे आ–आफ्नो धारणा राखिएको थियो । प्राधिकरणकी सदस्य ज्योति झाले स्वागत मन्तव्य व्यक्त गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तोष साहले सञ्चालन गखिएको थियो ।
दुईदिने प्रशिक्षण कार्यक्रममा मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा तथा महोत्तरी जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको छ। कार्यक्रममा संघीय शासन व्यवस्था, प्रदेश अधिकार, सञ्चार नीति तथा संघीयतासम्बन्धी समाचार लेखनका विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ ।





