शुरबहादुर सिंह
कर्णाली, असार ८ गते ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको छ ।
सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज साँझ ६ः०० पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलको सभाहलबाट पक्राउ गरिएको हो ।
पौडेललाई आजै काठमाडौँ पठाउनका लागि स्थलगत मार्गबाट सुर्खेत प्रहरीले नेपालगञ्ज लिएर गएको प्रहरी उपरीक्षक पौडेलले बताए । उपाध्यक्ष पौडेल एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनःगठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि सुर्खेत आउनुभएको जनाइएको छ ।
पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष बुटवल उपमहानगरपालिका–९ रुपन्देही घर भई हाल ललितपुर महानगरपालिका–२५ ललितपुरस्थित सैबु आवास आयोजनामा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ । उनलाई प्रहरी उपरीक्षक पौडेलको नेतृत्वमा १० विशेष प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।





