बाथरोग उपचार क्लिनिक बन्द



चितवन, असार १३ गते ।

चितवनको भरतपुर–१०स्थित नेशनल बाथरोग सेन्टरका नामबाट सञ्चालन गरिएको भरतपुर मेट्रो क्लिनिक बन्द गरिएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित अनुगमनमा पुगेको स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाको टोलीले क्लिनिक बन्द गरेको हो ।

भरतपुर मेट्रो क्लिनिक भनेर दर्ता गरिएको क्लिनिक २०८१ सालसम्म मात्र नविकरण गरेको र नेशनल बाथरोग सेन्टरका नामबाट सञ्चालन गरेको पाइएपछि बन्द गरिएको स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेले बताए ।

“नेशनल बाथ रोग सेन्टरका नाममा सेवा प्रदान गरिएको छ, उनले भने, यो बिशिष्टिकृत सेवा हो सङ्घमा दर्ता हुनुपर्छ ।” क्लिनिकले भौतिक संरचनालगायतका मापदण्ड पुरा नगरेको उनले बताए । यस्तै क्लिनिकले सेवा प्रदायक चिकित्सकसँग सम्झौता नगरेको र प्रयोगशाला नविकरण नगरेको पाइएको घिमिरेले बताए ।

लापरवाही गरेर क्लिनिक सञ्चालन गरेका कारण तत्कालका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । उनले नियमअनुसार मापदण्ड पुरा गरी दर्ता गरेर सेवा सञ्चालन गर्न निर्देशन दिइएको बताए ।

Scroll to Top