गोरखा, असार १३ गते ।
जंगली फल खाँदा गुम्वाका ६ जना बालबालिका बिरामी भएका छन् । चुमनुव्री गाउँपालिका ७ लामागाउँस्थित चुम गुम्वा जाने क्रममा पहिचान नभएको जंगली फल खाएर उनीहरू बिरामी परेका हुन् ।
‘काठमाडौंको कालिमाटीस्थित फर्पिङ गुम्वाबाट पढ्नका लागि भनेर गोरखाको चुम गुम्वा जादै रहेछन्,’ डिएसपी राजकुमार श्रेष्ठले भने, ‘चौरीखर्क भन्ने स्थानमा पहिचान नभएको फल खाएछन् अनि बिरामी भए ।’ वान्ता हुने टाउँको दुख्ने जस्ता लक्षणहरू उनीहरूमा देखिएको श्रेष्ठले बताए ।
बिरामी परेकामध्ये दुई जनाको अवस्था गम्भिर रहेको बताइएको छ । प्रहरीका अनुसार उनीहरूको छेकम्पार स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
काठमाडौंको फर्पिङ गुम्बाबाट शिक्षक पासाङ लामासहित ३२ जना बालबालिका शुक्रबार उत्तरी गोरखाको चुम गुम्वाका लागि हिंडेका थिए । शनिबार चौरीखर्क पुगेका उनीहरू जंगली फल खाएर बिरामी भएका हुन् ।





