द पब्लिक टुडे
गौशाला, असार १६ गते ।
नेपालको सबैभन्दा पुरानो तथा ऐतिहासिक संस्कृत शिक्षालयका रूपमा परिचित राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल), मटिहानीमा अध्ययनरत वटुकहरूलाई पूर्व विद्यार्थी तथा शिक्षाप्रेमी व्यक्तित्वहरूको सहयोगमा ट्र्याकसुट र धोती वितरण गरिएको छ ।
मंगलबार आयोजित विशेष कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डल, विद्यालयका पूर्व प्रधानाध्यापक अमिरीलाल मण्डल तथा प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलले संयुक्त रूपमा वटुकहरूलाई ट्र्याकसुट र धोती हस्तान्तरण गरेका थिए ।
गुरुकुलका पूर्व विद्यार्थी तथा हाल काठमाडौंस्थित प्रोग्रेसिभ सेकेन्डरी स्कुलका प्रधानाध्यापक विष्णु पराजुलीले करिब ५० हजार बराबरको गुरुकुलको नाम र लोगो अंकित ट्र्याकसुट सहयोग गरेका हुन् । विद्यार्थीहरूमा अनुशासन, एकरूपता र संस्थाप्रतिको अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले प्रदान गरिएको उक्त सहयोगलाई गुरुकुल परिवारले महत्वपूर्ण योगदानका रूपमा लिएको छ ।

यसैगरी, मटिहानी–७ स्थित श्री या.ल.ना. विद्यापीठका उप–प्राध्यापक वैदिक सितारा मण्डलले सहयोगस्वरूप प्रदान गरेको ४० थान धोती समेत सोही अवसरमा वटुकहरूलाई वितरण गरिएको छ । गुरुकुलीय जीवनशैली र वैदिक परम्पराअनुसार आवश्यक पोशाकको व्यवस्थाले विद्यार्थीहरूको दैनिक अध्ययन तथा धार्मिक–सांस्कृतिक अभ्यासमा थप सहजता पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख मण्डलले गुरुकुल नेपालको वैदिक शिक्षा, संस्कृति र सभ्यताको अमूल्य धरोहर भएको उल्लेख गर्दै यसको संरक्षण र विकासमा सबै पक्षको साझा दायित्व रहेको बताए । उनँले पूर्व विद्यार्थी तथा शुभेच्छुकहरूबाट भइरहेको सहयोगले गुरुकुलको शैक्षिक वातावरण थप सुदृढ हुँदै गएको धारणा व्यक्त गरे ।

प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलले सहयोगी विष्णु पराजुली र वैदिक सितारा मण्डलप्रति आभार व्यक्त गर्दै पूर्व विद्यार्थीहरूको यस्तो आत्मीय सहयोगले गुरुकुलको विकास अभियानलाई थप ऊर्जा प्रदान गरेको बताए । उनँले आगामी दिनमा पनि गुरुकुलप्रति यस्तै सहयोग र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उपस्थित शिक्षक, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूले पनि गुरुकुलप्रति देखाइएको सहयोगको प्रशंसा गर्दै संस्कृत शिक्षा, वैदिक परम्परा र गुरुकुलीय संस्कारको संरक्षणमा यस्ता योगदान प्रेरणादायी रहेको धारणा व्यक्त गरेका थिए ।





