बुटवल, असार १९ गते ।
भिडभाडको मौकामा महिलाहरूले घाँटीमा लगाएका सुनका गरगहना लुट्ने क्रम रुपन्देहीमा बढ्दै गएको छ ।
विशेष गरी हाटबजारमा भिडभाड हुने भएकोले त्यस्ता स्थानमा घाँटीमा लगाएका सुनका सिक्री लुट्ने क्रम बढेको हो ।
सोही क्रममा रुपन्देहीका विभिन्न स्थानहरूबाट महिलाले लगाएका सुनका सिक्रीहरू लुटेर फरार भएका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत बुधबार रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नं. ६ सुर्यपुरा स्थित हाटबजारमा भिडभाडको मौका पारी महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटिएको थियो।
उक्त सिक्री लुटेर भाग्ने क्रममा प्रहरीले बारा बारागढी गाउँपालिका वडा नं. ३ शिवपुरा बस्ने २५ वर्षीय विकाश रायलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सुर्यपुराको टोलीले रायको साथबाट १० ग्राम ८३० मिलिग्राम तौलको १ थान सुनको सिक्री बरामद गरेको जनाएको छ ।
पक्राउ परेका रायलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लुम्बिनीमा पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै असार १० गते तिलोत्तमा नगरपालिका वडा नं. ४ ड्राइभर टोल स्थित चाँदनी मार्गमा मोटर साइकलमा आएका अपरिचित व्यक्तिहरूले बाटोमा हिँडिरहेकी महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटेर फरार भएका थिए ।
प्रहरीले उक्त घटनाको अनुसन्धानको क्रममा भैरहवाका एक जना र भारतीय तिन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले सुनका गरगहना लुटेर भागेका सिद्धार्थनगर नगरपालिका वडा नं. ५ बस्ने ३२ वर्षीय प्रदीप कान्दु तथा भारतको गोरखपुर बस्ने ३२ वर्षीय राहुल जयसवाल, महाराजगन्ज बस्ने २२ वर्षीय प्रिन्स जयसवाल र बिहार बस्ने ३० वर्षीय नितेश कुमार गुप्तालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट २ तोला ९९ लाल ७ पोइन्ट र ९० लाल ७ पोइन्ट तौल भएका दुइ थान सुनको सिक्री तथा एउटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चार जनालाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





