तिलिचो ताल पदमार्गमा आश्रयस्थल निर्माण



मुस्ताङ, असार २४ गते ।

तिलिचो ताल पदमार्गमा पर्यटक आश्रयस्थल निर्माण गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले उक्त स्थान निर्माण गरेको हो ।

एक्याप जोमसोमको १२ लाख ३५ हजार ५५० लागतमा मुस्ताङको घरपझोङ–५ स्थित नमखुखर्क लेकमा ५० जना पर्यटक अट्नसक्ने क्षमताको आश्रयस्थल निर्माण सम्पन्न भएको प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले जानकारी दिए ।

मुस्ताङको जोमसोमबाट ठिनी, नमखुखर्क, मेसोकोन्दो पास हुँदै तिलिचो ताल पुगिन्छ । ताल समुद्री सतहबाट चार हजार ९१९ मिटर अग्लो स्थानमा अवस्थित छ । तिलिचो ताल मनाङ जिल्लामा पर्छ ।

जिल्लाको निस्याङ गाउँपालिकामा अवस्थित यो ताललाई विश्वकै उच्चस्थानमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण आन्तरिक तथा बाह्य पर्यटकलाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा लिने गरिन्छ ।

मनाङबाट भन्दा मुस्ताङको जोमसोमबाट ठिनी हुँदै तिलिचो जाने पर्यटकीय पदमार्ग निकै छोटो दूरीको सहज पर्यटकीय पदमार्ग हो ।

आश्रयस्थल निर्माण भएसँगै मुस्ताङको जोमसोमबाट ठिनी हुँदै तिलिचो तालको पदयात्रा गर्ने पर्यटकलाई निकै सहज हुने बताइन्छ । विश्राम घरमा पर्यटकले खाने र बस्ने हलको सुविधा पाउँछन् ।

तिलिचो पदमार्गको नमखुखर्कदेखि माथि करिब ३०० मिटर जीर्ण पदमार्गमा ग्याविन पर्खाल निर्माण गरी पदमार्ग निर्माण गरिएको छ ।

मुस्ताङबाट सबैभन्दा छिटो र सहज यात्रा गर्न सकिने तिलिचो पदमार्गको जानकारी नहुँदा उक्त पदमार्गमा पर्यटकको पदयात्रा कम हुने गरेको छ ।

हिमपहिरो र सुक्खा पहिरोका कारण तिलिचो पदमार्ग बिग्रने र भत्किने भए पनि एक्याप जोमसोम र संरक्षण व्यवस्थापन समितिले मर्मत सुधारका कार्यहरु गर्दैआइरहेका छन् ।

नमखुखर्कबाट करिब पाँच घण्टाको उकालो पैदलयात्रा गर्दै समुद्री सतहको पाँच हजार २४५ मिटरको मेसोकोन्दा पास छिचोलेर एक घण्टाको समयमा तिलिचो ताल पुग्न सकिन्छ ।

पर्यटकले नीलगिरि र धौलागिरि हिमाललगायतको दृष्यावलोकन गर्न सक्छन् । यहाँबाट वन्यजन्तुको गतिविधि र याक तथा चौरीको वासस्थानलगायतका क्षेत्रको अवलोकन गर्न सकिन्छ ।

Scroll to Top