द पब्लिक टुडे
बर्दिबास, साउन ३ गते ।
महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित ‘मधेसको कैलाश’का रूपमा परिचित टुटेश्वरनाथ महादेव मन्दिरमा रातु नदीको जल चढाउन उल्टो साइकल यात्री जिवनाथ पोखरेलले विशेष धार्मिक तथा पर्यटन प्रवर्द्धन अभियान सुरु गर्ने भएका छन् । पोखरेलले सोमबार बिहान रातु नदीबाट पवित्र जल संकलन गरी उल्टो साइकल चलाउँदै टुटेश्वरनाथ महादेव मन्दिरसम्म पुगेर भगवान शिवलाई जल अर्पण गर्ने तयारी गरेका छन् ।
बर्दिबासमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले रातु नदी सभ्यताको महत्व, स्थानीय धार्मिक सम्पदा र टुटेश्वरनाथ महादेव मन्दिरको पहिचानलाई राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले यो रचनात्मक अभियान सञ्चालन गर्न लागेको बताए ।
“स्थानीय मठमन्दिर, धार्मिक स्थल र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रचारप्रसारसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले यो यात्रा गर्न लागेको हुँ,” उनले भने ।
उनका अनुसार रातु नदीको जल टुटेश्वरनाथ महादेवमा अर्पण गर्नु केवल धार्मिक आस्थाको विषय मात्र नभई नदी सभ्यता, संस्कृति र प्रकृतिबीचको सम्बन्धलाई सम्मान गर्ने प्रतीकात्मक अभियान पनि हो ।
श्रावण महिनामा नेपाल र भारतबाट ठूलो संख्यामा श्रद्धालु पुग्ने टुटेश्वरनाथ महादेव मन्दिरमा हुने यो अनौठो उल्टो साइकल यात्राले धार्मिक पर्यटनको प्रवर्द्धनसँगै टुटेश्वरको पहिचानलाई थप व्यापक बनाउने विश्वास गरिएको छ ।
स्थानीयवासीले पनि पोखरेलको यस अभियानलाई धार्मिक आस्था, सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्द्धनलाई जोड्ने सिर्जनात्मक प्रयासका रूपमा लिएका छन् ।





