चितवन, साउन ६ गते ।
जिल्ला प्रशासन कार्यालय चितवनले बिहानदेखि साँझसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा उपलब्ध गराउने भएको छ । सो सेवा बिहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । आज एक सूचना जारी गर्दै बिहीबारदेखि सो सुविधा दिन लागिएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमद्वारा जारी सूचनामा सेवा ग्राहीको चापलाई मध्यनजर गर्दै समय बढाइएको जनाइएको छ । दैनिक ७५० जना हाराहारीलाई सेवाग्राहीलाई सेवा दिने गरी प्रबन्ध मिलाइएको सूचनामा उल्लेख छ । यससँगै केही दिनका लागि राष्ट्रिय परिचयपत्र वितरणको काम रोकिएको थियो ।
विगतमा परिचयपत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राहीको काम उक्त नम्बरका आधारमा हुने भएकाले केही दिनका लागि परिचयपत्र वितरणको काम रोकिएको सूचनामा उल्लेख छ ।
विभागको ‘सिस्टम अपग्रेड’का कारण सनाखतमा ढिलाइ भएको हुँदा क्रमशः सनाखत हुँदै जाने भएकाले उक्त प्रयोजनाका लागि कार्यालय आइराख्नु नपर्ने सूचनामा उल्लेख छ ।





