सिरहा, साउन १६ गते ।
सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनमा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको शव घर पुर्याइएको छ ।
सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीस्थित घरमा शनिबार साझ ६ः२५ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत शव पुर्याइएको हो ।
घरपरिवारले हिन्दू परम्पराअनुसार आजै गणेशको दाहसंस्कार गर्ने तयारी गरेका छन् । दाहसंस्कार पूर्वका विधि पूरा गरेपछि शवलाई गागन खोलाको किनारमा अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन् ।
गृहमन्त्री र परिवारबिच के–के भयो सहमति ?
बिहीबार गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेशको मृत्यु भएको थियो । शुक्रबार राति गृहमन्त्री सुधन गुरुङ मृतकको घर पुगेर परिवारसँग ८ बुँदे सहमति गरेका थिए ।
सहमतिअनुसार सरकारले गणेशलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, मृतकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने, परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर प्रदान गर्ने, मृतकका भाइबहिनीलाई निस्शुल्क शिक्षा र बुबाआमालाई सरकारी अस्पतालमा निस्शुल्क उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता जनाइएको छ ।
यस्तै, गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने विषय पनि सहमतिमा समेटिएको छ ।
सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री गुरुङ र मृतकका तर्फबाट गणेशका बुबा रामवृक्ष यादवले हस्ताक्षर गरेका छन् ।





