विराटनगर, साउन १८ गते ।
विराटनगरको प्रतिष्ठित औद्योगिक घराना देवेनरा समूहको घर तथा कार्यालयमा सोमबार बिहान नेपाल प्रहरीले गरेको पाँच घण्टे छापापछि कोशी प्रदेशस्थित निजी क्षेत्रका प्रमुख चार संस्थाले आपत्ति प्रकट गरेका छन्।
चार वटै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै प्रहरीले अपुष्ट सूचनाका आधारमा उद्योगी–व्यवसायीलाई आतंकित पार्ने शैलीमा कारबाही गरेको भन्दै आपत्ति जनाएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा प्रहरीको सूचना संयन्त्रमाथि नै प्रश्न उठाइएको छ।
विज्ञप्तिमा सोमबार बिहान विराटनगरस्थित देवेनरा समूहको घर तथा व्यवसायमा सडक नै घेराबन्दी गरेर करिब पाँच घण्टासम्म गरिएको छापाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
‘प्रहरीलाई प्राप्त सूचनाका आधारमा गरिएको उक्त छापामा प्रहरीकै प्रेस विज्ञप्तिअनुसार कुनै किसिमको गैरकानुनी वस्तु वा प्रमाण फेला नपर्नुले प्रहरीको सूचना संयन्त्रको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको छ,’ विज्ञप्तिमा भनिएको छ।
चार वटै संस्थाले अपुष्ट सूचनाको भरमा बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उद्योगी–व्यवसायीलाई आतंकित बनाउने शैलीमा गरिएको कारबाहीले निजी क्षेत्रलाई गम्भीर चिन्तामा पारेको उल्लेख गरेका छन्।
कानुन कार्यान्वयन गर्नु राज्यको दायित्व भए पनि त्यसक्रममा नागरिकको सम्मान, प्रतिष्ठा, व्यावसायिक निरन्तरता र प्राकृतिक न्यायका सिद्धान्तलाई समान रूपमा सम्मान गर्नुपर्ने चार संस्थाको साझा मत छ।
‘कानुन कार्यान्वयन राज्यको दायित्व भए पनि त्यसको कार्यान्वयन गर्दा नागरिकको सम्मान, प्रतिष्ठा, व्यावसायिक निरन्तरता तथा प्राकृतिक न्यायका सिद्धान्तलाई समेत समान रूपमा ध्यान दिनु आवश्यक हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ।
संयुक्त विज्ञप्तिमा पछिल्लो समय सरकारले निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोण अपनाउने प्रतिबद्धता जनाइरहेका बेला व्यवहार भने त्यसको विपरीत देखिएको टिप्पणी गरिएको छ।
‘निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तनको अपेक्षा गरिरहेको अवस्थामा हतोत्साहित हुने गरी छापा मार्ने कार्यले सरकारको नीति र व्यवहारबीच तादात्म्य नभएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिले सरकार र निजी क्षेत्र बीचको विश्वास कमजोर पार्ने मात्र होइन, सरकारले नै अघि सारेको आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यमा समेत नकारात्मक असर पर्नेछ।’
विज्ञप्तिमा भनिएको छ, ‘अपुष्ट सूचनाका आधारमा गरिने कारबाहीबाट निर्दोष उद्योगी–व्यवसायीको सामाजिक प्रतिष्ठा र व्यावसायिक साखमा असर पुग्नुका साथै यस्ता क्रियाकलापले राष्ट्रको अर्थतन्त्रमा दूरगामी असर पर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं।’
विज्ञप्तिमा उद्योग तथा वाणिज्य क्षेत्रलाई शंकाको दृष्टिले नभई सहकार्य, पारदर्शिता, कानुनी सुनिश्चितता र आपसी विश्वासको वातावरणमा अघि बढाउने नीति अवलम्बन गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ।
चार वटै संस्थाले उद्योग–व्यवसाय क्षेत्र देशको अर्थतन्त्रको मेरूदण्ड भएकाले निजी क्षेत्रप्रति विश्वासको वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
सोमबार बिहान विराटनगर–७ गोश्वारा रोडस्थित देवेनरा समूहका उद्योगी बेनीगोपाल मुन्दडाको घरमा प्रहरीले करिब पाँच घण्टा खानतलासी गरेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङले ‘विशेष सूचना’ को आधारमा भन्दै खानतलासी गरेको थियो।
तर, प्रहरीले खानतलासीमा कुनै पनि गैरकानुनी सामग्री फेला नपरेको र अनुसन्धान भने जारी रहेको विज्ञप्ति निकालेको थियो।





