राजा झा
जनकपुरधाम, साउन २४ गते ।
धनुषाको सुधार केन्द्रमा रहेका एक पुरुषको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका–९ स्थित शुभेच्छा फाउन्डेसन सुधार केन्द्रमा शनिबार साँझ गणेशमान चारनाथ नगरपालिका–४ का अन्दाजी ३५ वर्षीय मजिबुल राइनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।
प्रवक्ता न्यौपानेका अनुसार राइनलाई अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरिएको हो ।
मृतक राइनको शरीरमा निलडाम देखिएको हो । प्रवक्ता न्यौपानेले शवको पोस्टमार्टम भइरहेको र त्यसबाट थप खुल्ने बताए ।
मृतकका आफन्तले राति सडक अवरुद्ध गरी प्रदर्शन गरेका थिए । राइनलाई कुटपिट गरिएको र त्यस कारण मृत्यु भएको आफन्तको आरोप छ ।





