काठमाडौं, भदौ ३ गते ।
गएको साउन महिनामा मात्रै ४० लाख सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको नेपाल आयल निगमले जनाएको छ ।
निगमले बुधबार तथ्यांक सार्वजनिक गर्दै साउनमा मात्र ५७ हजार ३ सय १६ टन ग्यास आयात तथा बिक्री भएको जानकारी दिएको छ । यो मात्रा ४० लाख ३६ हजार ३ सय ६४ सिलिन्डर बराबर हो ।
निगमका अनुसार असारमा ३१ लाख ३६ हजार ९ सय ३७ सिलिन्डर बराबर ग्यास आयात र बिक्री भएको थियो । असारको तुलनामा साउनमै करिब ९ लाख सिलिन्डर बढी बिक्री भएको देखिएको छ ।
निगमले आगामी दिनमा ग्यास आयात अझै बढ्ने भएकाले आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न भनेको छ । साथै, अनावश्यक भण्डारण नगर्न समेत सचेत गराएको छ ।
निगमका अनुसार चैत २०८२ मा २७ लाख ३२ हजार ३ सय ५५ सिलिन्डर बराबर ग्यास आयात र बिक्री भएको थियो । यो वैशाख र जेठ २०८३ मा ह्वात्तै घटेर क्रमशस् २२ लाख ५७ हजार ४ सय ९६ र २३ लाख १२ हजार ८ सय ३७ मा सीमित भयो । त्यसपछि भने ग्यासको माग ह्वात्तै बढेको देखिन्छ ।





