काठमाडौं, भदौ ४ गते ।
काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक सवारीसाधन कुन ठाउँमा छन्, आफूले पर्खिएको ठाउँमा आइपुग्न कति समय लाग्छ जस्ता सार्वजनिक यातायातको सहजतासँग जोडिएको केटीएम पब्लिक ट्रान्स्पोर्ट मोबाइल एप्लिकेसन सार्वजनिक गरिएको छ ।
बुधबार संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकमा परिषद् अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप्लिकेसन सार्वजनिक गरेकी हुन् ।
एप्लिकेसनमा जीपीएस जडान भएका करिब १ हजार २ सय सवारीसाधनबारे जानकारी लिन सकिन्छ । यसलाई बढाउँदै लगिने परिषद्को योजना छ ।
बैठकमा अध्यक्ष डंगोलले उपत्यकाभित्र चल्ने यातायात प्रणाली सरल, सहज र पहुँचयुक्त बनाउन तथा रात्रिकालीन सेवा विस्तार गर्न र स्कुल कलेज जानुपर्ने विद्यार्थीका लागि बिहान सबेरैदेखि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेकाले यसका लागि स्थानीय तहबीच वित्तीय साझेदारी सहित प्रणालीमा काम गर्नुपर्ने बताइन् ।
‘सार्वजनिक यातायात कुनै एक पालिकाको सीमाभित्र मात्र राख्न मिल्ने क्षेत्र होइन, पालिका–पालिका जोडिने भएकोले यो पालिकाहरूको साझा सवाल हो,’ उनले भनिन्, ‘यसमा समन्वय गरेर कार्यक्रम र सेवालाई एकरूपता दिनुपर्छ ।’
बैठकका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक बस चढ्ने यात्रुले सहज भएको महसुस गराउने प्रणाली चाहिएको बताए ।
‘सार्वजनिक यातायातको सुधारका लागि यो परिषद्ले आकार बदल्न सक्ने क्षमता राख्छ, यो क्षमताको प्रयोग गरौं,’ महर्जनले भने ।
बैठकमा संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणका कार्यकारी अधिकृत कुवेर नेपालीले प्राधिकरणको कार्यक्षेत्रमा अन्तरसरकार समान बुझाइ नहुँदा विगतमा काम अगाडि बढाउन नसकिएको बताए ।
‘अघिल्लो वर्ष सरकारले खारेजीको सूचीमा राखेका कारण अगाडि बढाउन खोजिएका काम पनि रोकिए,’ उनले भने, ‘यस वर्ष पुनर्संरचित गर्ने भन्ने नेपाल सरकारको निर्णय आएको छ, यसकारण चालु आर्थिक वर्षका लागि कार्यक्रम प्रस्तावित गरिएका छन् ।’
यस वर्षका लागि बस स्टपर पिक ड्रप प्वाइन्ट निर्धारण, रात्रि बस सञ्चालन सर्त, सम्झौताको मोडेल तयार गरी नगरपालिकासँग सहकार्य थालनी गर्ने, स्थानीय तहसँगको साझेदारीमा मुख्य बस स्टप, बसपार्क आदिमा जीपीएस ट्र्याकिङ समेतका आधारमा सार्वजनिक यातायात सूचना प्रणाली जडान, नगदरहित भाडादर लागु गर्न कानुनी पूर्वाधार तयार गर्ने कार्यक्रम स्वीकृत भएका छन् ।
टिकट लिने संस्कार प्रोत्साहन गर्न अभियान चलाउने लगायत अध्ययन अनुसन्धानका कार्यक्रम हुने निर्णय भएको छ । छलफलमा नगरपालिकाबीच आपसी सम्बन्ध र सहकार्य, सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्र लक्षित सार्वजनिक यातायात सञ्चालन लगायत विषयमा सुझाव प्राप्त भएका छन् ।
परिषद्को पहिलो बैठक २८ भदौ २०८० मा बसेको थियो । त्यस बैठकले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्य क्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै निर्णय गर्नुअघि प्राधिकरणसँग समन्वयका लागि अनुरोध गर्ने निर्णय गरेको थियो ।
दोस्रो बैठक २०८१ सालमा बसेको थियो । त्यस बैठकले परिषद्को निर्णय प्रक्रियालाई समन्वय र व्यवस्थापन चुस्त बनाउन ९ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने निर्णय गरेको थियो । परिषद् सदस्य संख्या ३५ छ । संख्या धेरै भएकाले कार्य चुस्त बनाउन कठिन हुने भएपछि यसलाई चुस्त बनाउन परिषद् अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुखको अध्यक्षतामा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी सदस्य छन् ।
सार्वजनिक यातायात प्रणाली र पूर्वाधारसँग सम्बन्ध राख्ने यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय र सडक विभागलाई सदस्य राखिएको छ । परिषद्का प्रमुख कार्यकारी अधिकृत कुवेर नेपाली सदस्यसचिव छन् ।
प्राधिकरण र परिषद् सम्बन्धी कानुनी व्यवस्था
‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन २०७९’ को दफा ३ बमोजिम प्रदेश सरकारले सहरी क्षेत्रभित्रका सार्वजनिक यातायात सेवा व्यवस्थापन गर्न एक वा एकभन्दा बढी नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने गरी बढीमा ७ सदस्यीय सार्वजनिक यातायात प्राधिकरण स्थापना गर्न सक्ने व्यवस्था गरेको छ ।
यसै ऐनको दफा १२ मा संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण सम्बन्धी विशेष व्यवस्था छ । यसमा संघीय राजधानी क्षेत्रको सार्वजनिक यातायात सेवा नियमन तथा व्यवस्थापन गर्न संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण स्थापना गर्ने प्रबन्ध गरिएको छ । ऐन अनुसार हरेक प्रदेशमा १र१ वटा र संघीय राजधानीमा एउटा गरी ८ वटा प्राधिकरण हुनेछन् ।
संघीय राजधानी प्राधिकरणको काम कारबाहीलाई सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाका प्रमुखको अध्यक्षतामा संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् रहने व्यवस्था छ ।
ललितपुर महानगरपालिकाका प्रमुख परिषद्को उपाध्यक्ष र भक्तपुर नगरपालिकाका प्रमुख परिषद् सदस्य छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सदस्य छन् ।
परिषद्मा सडक विभाग, यातायात व्यवस्था विभागका महानिर्देशक वा उनले तोकेका राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वा उनले तोकेको प्रहरी उपरीक्षक, बागमती प्रदेशको यातायात विषय हेर्ने मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।
यस्तै सार्वजनिक यातायात सञ्चालन गर्ने ठूला फरक कम्पनीका तर्फबाट १ महिला सहित ३ जना, उपभोक्ता हित संरक्षणका क्षेत्रमा काम गर्ने संस्थाबाट १ महिला सहित २ जना, यातायात क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिमध्येबाट बागमती प्रदेश सरकारले मनोनीत गरेका १ महिला सहित ३ जना, परिषद्मा प्रतिनिधित्व नभएका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका नगरपालिका तर्फबाट प्रमुख वा उपप्रमुखमध्ये सम्बन्धित स्थानीय तहले मनोनीत गरेका एक–एक प्रतिनिधि, श्रमिक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व हुने गरी परिषद्बाट मनोनीत ३ जना सदस्य छन् ।
परिषद् सदस्यसचिवका रूपमा प्रमुख कार्यकारी अधिकृतले काम गर्छन् । यो अविछिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हो ।





