इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छ : इरानी राष्ट्रपति



काठमाडौँ, भदौ ५ गते ।

संयुक्त राज्य अमेरिकाविरुद्धको महिनौँदेखिको पश्चिम एसिया युद्ध अन्त्य गर्ने बेला आएको इरानी राष्ट्रपति मसुद पेजेस्कियानले शुक्रबार बताएका छन्।

उनले अहिले मध्यपूर्वमा तेहरान वाशिङ्टनभन्दा बलियो अवस्थामा रहेको दावी गर्दै यो नै युद्ध अन्त्य गर्ने समय भएको बताएका हुन्। दशकौँदेखिका यी दुई शत्रुबिचको वार्ता अहिले अवरूद्ध भएको छ । फेब्रुअरीमा अमेरिका र इजरायलले सुरु गरेको युद्धमा दुवै पक्ष गतिरोधमा फसेका छन्।

तेहरानले महत्त्वपूर्ण होर्मुज जलमार्ग आंशिक रूपमा बन्द राखेको छ भने वाशिङ्टनले इरानविरुद्ध नौसैनिक अवरोध जारी राखेको छ । “हामी अहिले शक्ति र मर्यादाको अवस्थामा रहेकाले युद्धलाई अहिले नै अन्त्य गर्नु राम्रो हुन्छ,” पेजेस्कियानले चिकित्सकहरूसँगको भेटमा भने।

“सारा संसारले हाम्रो विजय स्वीकार गरेको छ । युद्धमा अमेरिकाले सबै नियम उल्लङ्घन गर्दै हाम्रा विद्यालय, अस्पताल र पूर्वाधारमा आक्रमण गरेको छ र संसारभर घृणाको पात्र बनेको छ।”

पेजेस्कियानले जुन महिनामा अमेरिकासँग युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको समझदारी पत्रको पनि बचाउ गर्दै भने, “यो युद्धमा तेहरानको पराजय नजनाउने आधार हो ।” उनले भने, “यस समझदारी पत्रमा उनीहरूले आत्मसमर्पण जनाउने एक आधार पनि भेट्न सक्दैनन् । सबै प्रतिबद्धता अर्को पक्षसँग सम्बन्धित छन् ।”

उनका यी टिप्पणीहरू इरानका सर्वोच्च नेता मुज्तबा खामेनीले युद्ध अन्त्य गर्ने सम्झौतालाई ‘फरक विचार’ भए पनि स्वीकृति दिएको केही हप्तापछि आएका हुन्।

इरानी कट्टरपन्थी सांसदहरूले पनि सरकारलाई यस सम्झौताका लागि आलोचना गरेका छन्, जसमा मुख्यतः रणनीतिक हर्मुज जलमार्ग पुनः खोल्ने विषयमा अमेरिकालाई सहुलियत दिएको आरोप लगाइएको छ।

अमेरिकी सञ्चारका रिपोर्टअनुसार अमेरिकी नौसेनाले हर्मुज जलमार्गका दक्षिणी क्षेत्र हुँदै ट्याङ्कर काफिलाहरूलाई गोप्यरूपमा व्यवस्थित र सुरक्षा प्रदान गर्दै दैनिक ५० लाखदेखि एक करोड ब्यारेलसम्म तेल निर्यात गर्न सक्षम बनाएको छ।

तेहरानले आफू बलियो अवस्थामा रहेको दाबी गर्दा अमेरिकाले तेहरानमाथि दबाब बढाउन प्रतिबन्धहरू थप कडा बनाउने बताएको छ। अमेरिकी योजनाप्रति इरानको परराष्ट्र मन्त्रालयले निन्दा गर्दै अमेरिकालाई ‘आर्थिक आतङ्कवाद’ र ‘मानवताविरुद्ध’ का अपराध गरेको आरोप लगाएको छ।

“यी प्रतिबन्धका कर्ता र उक्साउनेहरू यस्ता घृणित अपराध गरेबापत मुद्दा र सजायको योग्य छन्,” इरानी राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित वक्तव्यमा भनिएको छ। यसैबिच अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बिहीबार वाशिङ्टनले युद्ध सुरु भएको करिब छ महिनापछि धम्कीपूर्ण अभियानबाट इरानी शासनलाई ‘ध्वस्त’ पार्ने प्रतिबद्धता जनाए।

यी टिप्पणीहरूले ट्रम्प प्रशासनले तेहरानमाथि सैन्यभन्दा आर्थिक दबाबतर्फ सर्दै गरेको देखाउँछन् किनकि अमेरिकी राष्ट्रपतिद्वारा सुरू गरेको ‘अलोकप्रिय’ युद्ध लम्बिँदै गएको छ।

चीनले पनि वाशिङ्टनको आर्थिक योजनाको आलोचना गर्दै अमेरिकी ‘प्रतिबन्ध र दबाब’ ले मध्यपूर्व द्वन्द्व समाधान नगर्ने बताएको छ।

आर्थिक दबाव र प्रतिबन्ध

वाशिङ्टनले बेइजिङसहित अन्य विश्व समुदायहरूलाई इरानी अर्थतन्त्रलाई अलग्गै पार्ने प्रयासमा सामेल हुन आग्रह गरेको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पका चेतावनीबारे सोधिएको प्रश्नमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले शुक्रबार पत्रकारहरूलाई भने, “प्रतिबन्ध र दबाबले समस्या समाधान गर्न मद्दत गर्दैन।”

“चीन सबै सम्बन्धित पक्षलाई जिम्मेवार कदम चाल्न र राजनीतिक तथा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दछ,” उहाँले भन्नुभयो ।

चिनियाँ राष्ट्रपति सी चिनपिङ सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमण गर्न लागेका छन्, जहाँ इरानको विषय अवश्य उठ्नेछ, जसरी मे महिनामा ट्रम्प बेइजिङमा शिखर सम्मेलनका लागि गएका बेला उठेको थियो।

बेसेन्टले इरानविरुद्ध आर्थिक प्रतिबन्ध बढाउने योजनाले वाशिङ्टनलाई देशविरुद्ध ठूला सैन्य कारबाहीमा फर्किनुपर्ने सम्भावना कम बनाएको बताए।

अमेरिकी अर्थमन्त्रीले सोमबारको प्रेस सम्मेलनमा इरानविरुद्धका आर्थिक उपायहरूको थप विवरण दिने बताए।

अन्य वरिष्ठ इरानी अधिकारीहरूले पनि अमेरिकी प्रतिबन्ध योजनाको आलोचना गरे।

“तथाकथित ‘आर्थिक डी–डे (आर्थिक दबाव र प्रतिबन्ध)’ अमेरिकाको आफ्नै अत्यधिक ऋण र बढ्दो ब्याज खर्चजस्ता सङ्कटबाट ध्यान हटाउने चाल हो,” इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले बिहीबार सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा उल्लेख छ।

Scroll to Top