महिला उद्यमशीलता सम्मेलन गर्दै कांग्रेस

File Photo



काठमाडौं, भदौ ८ गते ।

नेपाली कांग्रेसले ‘महिला उद्यमशीलता सम्मेलन’ गर्ने भएको छ।

केन्द्रीय कार्यालय सानेपामा भदौ ११ गते सम्मेलन हुनेछ।

महिलाको आर्थिक सशक्तिकरण, उद्यमशीलताको प्रवर्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीहरूको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ।

सम्मेलनले उद्यमीहरूबीच अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र नेटवर्किङका लागि साझा मञ्च उपलब्ध गराउने लक्ष्य राखेको छ।

सम्मेलनसँगै कांग्रेस केन्द्रीय कार्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी आयोजना गरिने छ।

प्रदर्शनीमार्फत महिला उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रत्यक्ष रूपमा उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित साझेदारसमक्ष प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन्।

एक दिने यो सम्मेलनमा महिलाको आर्थिक सशक्तिकरणलाई समुन्नतिको महत्वपूर्ण आधारका रूपमा लिँदै महिला उद्यमीका विद्यमान चुनौती, सम्भावना र अवसरबारे बहुआयामिक छलफल गरिने कांग्रेसले जनाएको छ।

यो सम्मेलनबाट महिला उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयआर्जन, आत्मनिर्भरता र समुन्नत समाज निर्माणमा योगदान पु‍ग्ने विश्वास पार्टीको छ।

सम्मेलनमा महिला उद्यमशीलतासँग सम्बन्धित तीन वटा विषयगत प्यानल आयोजना गरिने छ। प्यानल छलफलमा व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिता रहने छ।

छलफलमार्फत महिला उद्यमीहरूले भोगिरहेका चुनौती, लगानी तथा वित्तीय पहुँचका समस्या, प्रविधि र डिजिटल बजारको सम्भावना तथा व्यवसाय विस्तारका अवसरबारे विचार आदानप्रदान गरिने छ।

सम्मेलनको अर्को आकर्षण “मेरो उद्यमशील यात्रा” रहने छ। यसमा प्रेरणादायी व्यक्तित्वहरूको सफलताको कथा सुनाउनेछन्।

यस सत्रमा सफल महिला उद्यमीहरूले आफ्नो उद्यम यात्रा, संघर्ष, चुनौती, सफलता र सिकाइ प्रत्यक्ष रूपमा साझा गर्नेछन्। यसबाट नयाँ पुस्ताका महिला तथा उद्यमशीलतामा प्रवेश गर्न चाहनेहरूलाई प्रेरणा र व्यावहारिक मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी केन्द्रसमेत सञ्चालन गरिने छ। यो केन्द्रमार्फत महिला उद्यमीहरूले व्यवसाय दर्ता, वित्तीय पहुँच, लगानी, सरकारी सेवा तथा उद्यम विस्तारका लागि उपलब्ध अवसरबारे आवश्यक जानकारी उपलब्ध गराइने कांग्रेसले जनाएको छ।

सम्मेलन भदौ ११ गते सानेपा परिसरमा बिहान ८ बजे सुरू हुनेछ। १०,००० जनाभन्दा बढी सहभागीले सम्मेलनको अवलोकन गर्ने अपेक्षा छ।

Scroll to Top