सरु लामा
लालगढ, भदौ ८ गते ।
धनुषाको मिथिला नगरपालिका–१० लालगढस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणको परिसरमा नवनिर्मित दुर्गा भगवती मन्दिरको समुद्घाटन तथा प्राण प्रतिष्ठा गरिएको छ । प्रहरी र समुदायको सहकार्यमा निर्माण गरिएको दुर्गा भगवती मन्दिरको सोमबार समुद्घाटन तथा प्राण प्रतिष्ठा गरिएको हो ।
मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले उक्त मन्दिरको उद्घाटन गरेका हुन् । ‘समुदाय प्रहरी साझेदारी, शान्ति एवं सुरक्षित समाज’ भन्ने उद्देश्यसहित नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केबरद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर मगर, मधेस प्रहरी गणका गणपति, मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकी, मिथिला नगरपालिका–१० का वडाध्यक्ष सबिनविक्रम थापालगायत प्रहरी अधिकारी, जनप्रतिनिधि, स्थानीयवासी तथा सहयोगी दाताहरूको उपस्थिति थियो ।

नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवरका प्रहरी उपरीक्षक भुवनेश्वर साहले मन्दिर निर्माणको सुरुवातको प्रसङ्ग स्मरण गर्दै गत वर्ष दसैँका बेला लालगढ आउँदा स्थानीयवासीसँग दुर्गा भगवतीको मन्दिर निर्माणबारे कुराकानी भएको बताए । त्यस क्रममा प्रहरी र समुदायको सहकार्यमा अर्को दसैँसम्म मन्दिर निर्माण गरी स्थानीयवासीले त्यहीँ पूजा तथा भजनकीर्तन गर्न सक्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिएको र त्यसैको परिणामस्वरूप मन्दिर निर्माण सम्पन्न भएको उनले उल्लेख गरे ।
मन्दिर निर्माणमा स्थानीय सरकार तथा जनप्रतिनिधिको आर्थिक सहयोग नरहेको र प्रहरी, स्थानीय समुदाय, विभिन्न दाता तथा सहयोगीहरूको योगदानबाट मन्दिर निर्माण गरिएको बताइएको छ । ‘मन्दिर निर्माणका लागि करिब २१–२२ लाख रुपैयाँ नगद सहयोग जुटेको थियो । उक्त रकममा प्रहरी र समुदायको योगदान लगभग बराबरी रहेको छ,’ प्रहरी उपरीक्षक साहले भने ।
उनका अनुसार मन्दिर निर्माणमा आर्थिक सहयोगभन्दा प्रहरी कर्मचारी तथा स्थानीयवासीले गरेको श्रमदान अझ महत्वपूर्ण रहेको छ । प्रहरीका आधारभूत दर्जाका कर्मचारीहरू घामपानी नभनी दिनरात खटिएर निर्माण कार्यमा सहभागी भएको प्रहरी उपरीक्षक साहले स्मरण गरे ।

सर्लाही क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य नरेन्द्र शाह कलवारले मन्दिरका लागि मूर्ति उपलब्ध गराउन सहयोग गरेको बताइएको छ । मन्दिर निर्माणका लागि सहयोग गर्ने प्रहरी कर्मचारी, स्थानीयवासी तथा विभिन्न दाताहरूको योगदानको सम्मान गर्दै कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो ।
प्रहरी र नागरिकबीचको सहकार्य तथा साझेदारीको उदाहरणका रूपमा निर्माण गरिएको दुर्गा भगवती मन्दिरले धार्मिक आस्था र सामाजिक एकतासँगै समुदाय–प्रहरी सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको प्रहरी उपरीक्षक साहले बताए ।





